७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निर्वाचनपछि केपी ओलीको पार्टी लाईट बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल



शिव सुुवेदी, अर्घाखाँची ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाईट बालेर खोज्नुपर्ने बताएका छन ।

एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले संविधान विपरीत दुईदुई पटक संसदको विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरु उनको पार्टीको विपक्षमा रहेकाले आगामी निर्वाचनपछि केपी ओलीको पार्टीलाई लाईट बालेर खोज्नुपर्ने अवस्था आउने दावी गरे ।

जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन उनले भने-‘तपाईंहरु पनि भ्रममा नपर्नुस ।’ उनले अस्ति भर्खरै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासंग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको वताए । संविधानको रक्षा गर्दै ससंद जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनवाट केपी वली पार्टी पत्तासाप हुने ठोकुवा गरे ।


केपी ओलीको दम्भ, घमण्ड र सर्वसत्तावाद प्रवृत्तिले केन्द्रीय सरकार लगायत सवै प्रदेश सरकार ओलीले गुमाएको बताए । उनले संविधान बचाउने गठवन्धनवाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

सुखि नेपाली, समृद्ध नेपाल वनाउने अभियानमा पार्टी लागेकाले सवै नेता कार्यकर्ताहरु यसमा हातेमालो गर्न पूर्व प्रधानमन्त्री नेपालले निर्देशन दिए । पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए । पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले निर्देशन दिए ।

मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधान मिच्ने काम भएको भन्दै उनले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि विद्रोह गर्न वाध्य भएको वताए । उनले एकीकृत समाजवादी पार्टी नेपालमा कम्युनिस्ट पार्टीहरुको नेतृत्व गर्ने ठुलो पार्टी वन्ने पक्का भएको भन्दै कार्यकर्ताहरुलाइ उत्साहजनक रुपमा गाउँगाउँमा पुगेर पार्टी निर्माणमा जुटन आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ४ : ५२ बजे