१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माघ १४ बाट चौधौँ कपिलवस्तु महोत्सव हुने, रेश्मीलाई संयोजक बनाइयो



मायादेवी अनलाइन, चारनम्बर ।

यो सिजन मुलुकभरमा नै मेला महोत्सवको सिजन हो । पछिल्लो २ बर्षसम्म कोरोनाको कारण कपिलवस्तु लगायत मुलुकभर कुनै पनि मेला महोत्सवहरु हुन नसके पनि यो सिजनमा भने बिभिन्न संघ संस्थाले मेला महोत्सवको आयोजना गर्ने सुर गरेका छन् ।

अहिले कोरोना कम भएर जनजीवन सामान्य भएको छ भने कतिपय स्थानमा हजारौँ मानिस सहभागि गराएर एक दिने कन्सर्ट र सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यसै सन्दर्भमा कपिलवस्तुमा पनि पर्वको रुपमा संचालन गरिँदै आएको मेला महोत्सव हुने कुरा आएको छ ।

कपिलवस्तुको चन्द्रौटा र तौलिहवामा मेला–महोत्सव हुने भए तापनि जिल्लाको सर्वाधिक दर्शकको ओइरो हुने र फरक खालमा संचालन गरिने मेला कपिलवस्तु उद्योग बाणिज्य संघले गर्ने महोत्सव हो । २ बर्षसम्म कोरोनाको कारण मेला आयोजना गर्न नपाएको संघले यसपटक मेला संचालन गर्ने तयारी गरेको छ ।

मुलुकभर कोकरोनाको अर्को भेरियन्ट ओमिक्रोनको संक्रमण नफैलिएको खण्डमा संघले यही माघ १४ गतेबाट १० दिनसम्म महोत्सव संचालन गर्ने गरी योजना बनाइरहेको छ । यसको लागि तयारी सुरु भइसकेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले मायादेवी अनलाइनसंग बताउनु भयो ।

उहाँका अनुसार बरिष्ट उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी उप-समिति बनाइसकिएको छ । रेश्मीले अहिले महोत्सव संचालनबारे प्रस्तावना लेखन तथा पूर्व तयारीबारे गृहकार्य भइरहेको बताउनु भयो । कोरोनाको जोखिम नबढेर महोत्सव संचालन हुन पाए ऐतिहासिक र फरक ढंगले यसपटक बुद्ध रंगशाला जितपुरमा महोत्सव हुने रेश्मीको भनाई छ ।

संघका महासचिव मनोज पौडेलका अनुसार अहिलेसम्म जसरी पनि महोत्सव संचालन गर्ने तयारी छ । रुपन्देहीमा पनि महोत्सव हुने कुरा सुनिश्चित भइसकेकाले आफूहरुले पनि तयारी थालेको पौडेलले बताउनु भयो । यस विषयमा संघका अध्यक्ष डोलकराम घिमिरेले गृहमन्त्री बालकृष्ण खाणसगं कुराकानी गरिरहनु भएका पौडेलले बताउनु भयो । यता कपिलवस्तुबासी पनि महोत्सवको पर्खाइमा छन् ।

जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म महोत्सव संचालनको अनुमति दिएको छैन । कोरोनाको ओमिक्रोनको भेरियन्टको संक्रमणको अवस्था र नेपाल सरकारको नीति अनुसार निर्णय लिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ६ : ४९ बजे