१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आमाले मिर्गौला दिएपछि बाणगंगाका हरि न्यौपानेले पाए ‘जीवनदान’




मायादेवी अनलाइन, चारनम्बर ।

दुवै मिर्गौला फेल भई उपचाररत युवा हरि न्यौँपानेको सफल तरिकाले मिर्गौला प्रत्यारोपण भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका २९ वर्षे हरि न्यौपानेको भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा मंगलबार सफल मिर्गौला प्रत्यारोपण भएको हो ।

हरिलाई ५० बर्षिय आमा मनकला न्यौपानेले मिर्गौला दान गर्नुभएको अस्पतालले जनाएको छ । दुवै मिर्गौलामा समस्या भएको थाहा पाएपछि बुटवल र काठमाण्डौमा १ बर्ष बढी नियमित डायलाइसिस गरेपछि बल्ल हरिको मिर्गौला प्रत्यारोपण सफल भएको हो । आर्थिक अवस्था निकै कमजोर भएको हरिको उपचारमा अहिलेसम्म २० लाख बढी खर्च भएको पारिवारिक श्रोतले बतायो । अब ३ महिनासम्म हरि भक्तपुरमै बसेर अन्तिम जाँचपछि मात्र घर फर्कने छन् ।

प्रत्यारोपणपछि अहिले हरिको अवस्था राम्रो छ भने मिर्गौला दान दिनुभएकी आमाको पनि अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकले पनि अब आमाछोरा दुवैलाई कुनै असर नहुने बताएका डाक्टरको भनाई उद्धृत गर्दै हरिको श्रीमती सिम न्यौँपानेले मायादेवी अनलाइनसंग बताउनु भयो । तिन महिनासम्मको पूर्ण आरामपछि हरि सामान्य काममा फर्कन सक्ने भएकाले यो बीचमा कुनै लापरबाही नगर्न चिकित्सकको अनुरोध छ ।

आफ्नो आर्थिक अवस्था कमजोर भए तापनि देशविदेशका सबै इष्टमित्र र साथीसंगी, संघसंस्थाको सहयोगले गर्दा आफूले जीवन दान पाएको भन्दै हरिले सबैलाई धन्यबाद दिनुभएको छ । उहाँले मायादेवीसंग भन्नुभयो ‘आमाले मलाई आफ्नो ज्यान दाउमा राखेर नया जीवन दिनुभएको छ । यो कसरी बर्षन गरुँ । अरु सबैले सहयोग गर्नुभएको छ । यो गुन शब्दले भनेर तिरिदैन ।सबैलाई धेरैधेरै धन्यबाद । मलाई बचाइदिनुभएकोमा ।’

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ६ : ३९ बजे