६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

झण्डै १६ वर्ष नेतृत्व गरेकी जर्मनीको चान्सलर मर्केल बिदा, ओलाफको उदय



काठमाडौं ।
जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित हुनुभएको छ । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई हिजोको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उहाँ निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीका रुपमा ओलाफको उदय भएको छ ।

योसँगै मर्केलको कार्यकाल सकिएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गएको हप्ता ग्रिन्स एण्ड लिबरल फ्रि डेमोक्रेट (एफडीपी)सँग गठबन्धन गरेकाले ओलाफ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । उहाँ चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म श्रम मन्त्री तथा सन् २०१५ मा अर्थमन्त्री बन्नुभएको हो ।

यसअघि मर्केल झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर बन्नुभयो । सन् २००५ मा उहाँ जर्मनीको पहिलो महिला चान्सलर बन्नुभएको थियो । त्यसपछि उहाँले लगातार चार कार्यकाल सम्हाल्नुभयो । सन् १९५४ मा पश्चिम जर्मनीको ह्यामवर्गमा जन्मेकी मर्केल चान्सलर हुँदा विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनुभएको थियो ।

एन्जेला मर्केललाई फोर्ब्स पत्रिकाले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८ बिहिबार ००:००  ७ : ४५ बजे