४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब



काठमाण्डौ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यस्तै, सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा सहमति हुन सकेको थिएन ।

आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने यो समूहका नेताहरुले बताएका छन् । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा. शेखर कोइराला सभापतिको आकाङ्क्षी हुनुहुन्छ ।

हिजो शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिनु भएको थियो ।


पार्टी र सत्ताको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अङ्कगणितमा समेत बलियो बनेपछि यो समूहलाई देउवाविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । देउवा भने संस्थापनबाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा हुनुहुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८ बिहिबार ००:००  १० : ०० बजे