४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

२४ घण्टामै ३ लाख ३७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाए, २ सय ११ सङ्क्रमित थपिए



काठमाण्डौ ।
पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ ।

त्यही अभियान अन्तर्गत आज तीन लाख ३७ हजार एक सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए ।

अहिलेसम्म ९० लाख ५८ हजार पाँच सय ८२ जनाले पूर्ण मात्रा र एक करोड आठ लाख ४६ हजारभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप दुई सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २३ प्रतिशत अर्थात् दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै थप तीन सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार नौ सय जना पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४९ पुगेको छ । अहिले नेपालमा ६ हजार एक सय पाँच जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८ बिहिबार ००:००  ४ : ३६ बजे