५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

२४ घण्टामा ३ सय ४१ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २४ हजार पाँच सय ३५ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार आठ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख सात हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय २४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोपको एक करोड मात्रा भन्दा धेरै मौज्दात रहेको छ । अहिलेसम्म नेपालमा तीन करोड १४ लाख १९ हजार तीन सय ३० मात्रा खोप प्राप्त भएकोमा दुई करोड सात लाख ५९ हजार ५४ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक करोड ६ लाख ६० हजार मात्रा भन्दा धेरै खोप मौज्दात रहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ८७ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । योसहित नेपालमा ९३ लाख दुई हजार १९ जनाले पूर्ण मात्रा र एक करोड १४ लाख ५७ हजार ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ । यस्तै सरकारले आउँदो पुस ४ देखि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिँदैछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८ सोमबार ००:००  ५ : ४२ बजे