३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

शिक्षकका समस्या समाधानका लागि नियमावली संसोधन हुन्छः मन्त्री पौडेल



रुपन्देही ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताएका छन् ।

बुटवलमा रहेको कान्ति माविको ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक सेवाबाट स्थायीरूपमा शिक्षक परिपूर्ति गर्न लागिएको बताए । बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सृजना गरिने र कम भएको स्थानबाट कटौतीसमेत गरिने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक तथा कर्मचारीको साझा मन्त्रालय रहेको भन्दै मन्त्री पौडेलले शिक्षकका समस्या समाधानका लागि महासङ्घको आग्रहमा विभिन्न काम सरकारले अगाडि बढाएको बताए ।

उनले यही वर्षमा शिक्षकका लागि केन्द्रीयस्तरको अस्पताल निर्माणका लागि सरकारले काम अगाडि बढाएको जानकारी गराउँदै यसै वर्षदेखि अस्पताल निर्माणको काम सुरु हुने बताए । मन्त्री पौडेलले प्रदेश प्रदेशमा एउटा नमूना विद्युतीय पुस्तकालय स्थापनका लागि सरकारले पहल गरिरहेको बताए।

कान्ति मावि नेपालमा विज्ञान विषयका लागि नमूना बनेकोे भन्दै मन्त्री पौडेलले विद्यालयको भवनसहितको भौतिक पूर्वाधार निर्माणका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ८ : २१ बजे