४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बिहानैबाट देशभर वर्षा, भोलिसम्म पानी पर्ने



काठमाडौं ।
देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुनेछ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । तर, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ ।”

आजराति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

“देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ,” विभागले भनेको छ, “त्यसैले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ७ : २९ बजे