४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वर्षाले देशभर चिसो बढायो



काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ । यो वर्षको जाडोयाममा काठमाडौंको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियससम्म झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यही डिसेम्बर १८ र डिसेम्बर २२ मा दुई दिन काठमाडौंको न्यूनतम तापक्रम २.६ डिग्रीसम्म झरेको विभागले जनाएको छ ।

आज बिहानदेखि देशभर वर्षा र हिमपात भइरहेको छ । विभागले आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री मापन गरेको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशैभर वर्षा र हिमपात भएको विभागले जनाएको छ ।

विभागकी मौसमविद् प्रतिभा मानन्धरले क्रमिक रूपमा तापक्रम घट्दा जाडो बढेको बताइन् । आज बिहानदेखिको वर्षाले भोलिका दिनहरूको तापक्रममा गिरावट आउन सक्ने उनको भनाइ छ ।

‘‘पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज रातिसम्म पर्ने देखिएको छ । देशका विभिन्न भूभागमा आज दिउँसो, राति पानी र हिमपात पर्ने र रोकिने क्रम चल्नेछ । भोलि बिहान काठमाडौं उपत्यकालगायत उच्च हिमाली क्षेत्रको तापक्रममा गिरावट आउने सम्भावना छ,” मानन्धरले बाह्रखरीसित भनिन् ।

विभागले भोलिदेखि देशको पश्चिमी भूभागबाट क्रमिक रूपमा मौसममा सुधार आउने सम्भावना रहेको जनाएको छ । वर्षा रोकिएपछि तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्न सक्ने उनले बताइन् ।

‘‘दिउँसोतिर हुस्सु र कुहिरो कमजोर भएर जान्छ । पहाडी भूभागहरूमा बिहानको तापक्रममा गिरावट आई बढी चिसो महसुस हुने देखिन्छ । बिहान–बेलुका चिसो हुने र दिउँसो घाम लाग्ने हुन्छ । आजको जस्तो हुँदैन,” उनले भनिन् ।

आज मनाङको न्यूनतम तापक्रम माइनस २० डिग्री, जुम्लाको माइनस ८ डिग्री र हुम्लाको तापक्रम माइनस ५ डिग्री मापन गरिएको थियो ।

दैनिक रूपमा न्यूनतम तापक्रम घटिरहेकाले अझै चिसो बढ्ने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा वर्षा भइरहेको बेलामा भने तापक्रम बढेको छ । बादल लागेर वर्षा भइरहेको बेलामा न्यूनतम तापक्रम नझर्ने पनि विभागले जनाएको छ । वर्षा रोकिएपछि तापक्रम घटेर चिसो हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : १४ पुस २०७८ बुधबार ००:००  ३ : २३ बजे