२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

आजबाट मौसममा सुधार हुँदै, जाडो भने बढ्ने



काठमाण्डौ ।

हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाण्डौको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो ।

आज भने दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यस्तै, आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  ८ : ०९ बजे