१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

देशभर कठ्याङ्ग्रिँदो चिसो, धेरै ठाउँमा बाक्लो हुस्सु



काठमाडौं ।
देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँकाअनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ ।

बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएको छ । चिसो भगाउन आगो ताप्ने तथा हिटर जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । तर, असावधानीका कारण यसरी तातो न्यानो हुन खोज्दा ज्यानै जोखिम धेरै हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, तातो पानीका लागि ग्याँस गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । मन्त्रालयले सूचना निकालेर हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा ग्याँस गिजर प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न पनि अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूरै निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन आग्रह गरेको छ ।

चिसोका कारण स्वास्थ्य समस्या देखा परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ७ : ४६ बजे