१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

आठौंं महाधिवेशनः नेतृत्व चयन गर्दै माओवादी केन्द्र



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो।

नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार सबै समूहको प्रस्तुतीकरण सकिएन। शुक्रबार १ बजे सुरु हुने बन्दसत्रमा बाँकी समूहको प्रस्तुतीकरणपछि प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

निर्वाचन कार्यक्रमको लागि शुक्रबार निर्वाचन तालिका सार्वजनिक गरिने सम्भावना छ। महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्यमात्रै चुन्ने तयारी गरिएको छ। तर प्रतिनिधिहरुले महाधिवेशनबाटै बाँकी पदाधिकारीहरुसमेत चुन्नुपर्ने आवाज उठाएका छन्। उनीहरुले महाधिवेशनबाट अन्य पदाधिकारीहरु नचुन्दा नकारात्मक सन्देश जाने भन्दै आएका छन्।

महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि महाधिवेशनबाटै सबै पदाधिकारीहरुको चयन गर्नुपर्ने अडान लिँदै आएको बुझिएको छ। महाधिवेशनले अन्य पदाधिकारीहरु नचुन्दा निर्वाचन आयोगमा प्राविधिक समस्या हुने आयोगले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको बताइन्छ।

जसअनुसार शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन लम्बिने सम्भावना बढेको छ। पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए।

यही पुस ११ गते आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको थियो। प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए। राजनीतिक प्रतिवेदन र विधानमाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति नसकिएपछि महाधिवेशन लम्बिँदै गएको हो।

शुक्रबारको बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ११ : १७ बजे