६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आजदेखि बत्ती गइरहने समस्या समाधान हुन्छः कुलमान घिसिङ



काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ ।

आज शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आज शुक्रवारदेखि यो समस्या समाधान हुने बताउनु भएको हो ।

घिसिङले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको बताउनुभयो । उहाँले काठमाण्डौ उपत्यकामा अब नौ वटा सबस्टेशन थपिने भएकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् आपूर्ति गर्न सक्ने बताउनुभयो । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएका कारणले यी समस्या आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत तीनरचार दिनदेखि विद्युत आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाण्डौमा मात्रै हो । यो आपूर्तिको कारणले भएको समस्या होइन । काठमाण्डौका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँमा मात्र समस्या भएको हो । अहिले हाम्रो विद्युतको बेलुकाको पिक लोड झन्डै १७ सय मेगावाट र बिहानको झन्डै साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले आपूर्ति गर्न सकिरहेका नै छौँ ।

माथिल्लो तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाण्डौमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाण्डौको लोड बढेको छ । पानी परेपछि ठाउँ–ठाउँमा हाम्रो लोड नसोचेको रूपले बढ्यो । त्यसले गर्दा प्रणालीमा सबस्टेशनबाट फिडर निस्किन्छ, काठमाण्डौभित्र धेरै सब्स्टेशन छन् जसले काठमाण्डौभित्रको लोडलाई आपूर्ति गरिरहेको छ । काठमाण्डौ उपत्यकामा मात्रै झन्डै ३७ सय ट्रान्सफर्मर छन् ।

त्यसबाट नै आपूर्ति हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०र२० वटा ट्रान्सफर्मरमा समस्या आउने हुन्छ । अहिलेको मुख्य समस्या भनेको ट्रान्सफर्मर ओभरलोड भएको हो । लोडअनुसार ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले बिजुली जाने समस्या नहुने बताउनुभयो । उहाँले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ५ : ४३ बजे