४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

माओवादी महाधिवेशनः नेतृत्व चयनको प्रक्रिया सुरु हुने



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजसम्म लम्बिएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन ।

विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको माओवादीले जनाएको छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । अध्यक्षमा अरु नेताले दाबी नगरेकाले प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना देखिन्छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।

दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर चुनाव गर्ने तयारी गरिएको छ । विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि चुनावी प्रक्रिया सुरु हुन्छ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  ९ : ४९ बजे