१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थप ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ५९ जनाको नमूना परीक्षण गर्दा एक दशमलव ८२ प्रतिशत अर्थात तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पुष्टि भएको संख्या दैनिक विवरण अनुसार गएको कात्तिक २६ गतेपछिको सबैभन्दा धेरै हो । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५२ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार दुई सय १० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

अहिले नेपालमा चार हजार नौ सय ६९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ५९ हजार एक सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएको छन् । यो सहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जना पुगेको छ । एक करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  ५ : २२ बजे