८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ओमिक्रोन भेरियन्ट भित्रिन नदिन स्वास्थ्य कार्यालयलाई ७ बुँदे निर्देशन



काठमाडौं ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रिन नदिन पूर्व तयारी गर्न ७ बुँदे निर्देशन जारी गरेको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ७ वटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको संक्रमण भित्रिन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै ७ बुँदे निर्देशन जारी गरेको हो ।

उनले ओमिक्रोन भेरियन्ट संक्रामक रहेकाले नेपालमा भित्रिन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताए ।

नेपालमा ३ जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ । समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्न, पहिचान भएका कोभिड–१९ का संक्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ ।

सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्न समेत भनिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८ सोमबार ००:००  २ : २१ बजे