७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी हुन्न : मन्त्री आले



बुटवल

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताउनुभयो ।

‘शान्ति दूत भगवान गौतमबुद्ध जन्मिनु भएको र उहाँकै नामबाट देश विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन’, उहाँले भन्नुभयो, ‘यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनु होला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हुनेछ ।’
लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु गुणस्तरयुक्त हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा भौतिक संरचना निर्माण भइसकेका छन् । योजना अनुसार ८१ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै बाँकी काम चाँडै टेण्टर प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनी विकास कोषका पदाधिकारीलाई मन्त्री आलेले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८ शनिबार ००:००  ३ : २८ बजे