१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

दीलिप कार्कीको ‘अनुभव र अनुभूति’ कवितासंग्रहको विमोचन



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका अग्रज साहित्यकार तथा शैक्षिक ब्यक्तित्व दिलिप कार्कीको ‘अनुभव र अनुभूति’ कविता संग्रह विमोचन भएको छ । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो ।

नेपालकै जेठो पुत्कालय ‘धवल पुस्तकालय पाल्पा’ का अध्यक्ष (प्रमुख अतिथि) युवराज पौडेलले बाणगंगामा कविता संग्रहको विमोचन गर्नुभएको थियो । संग्रहमा नेपाली , हिन्दी र अंग्रेजी गरी २६ वटा कविता समावेश छन् । वरिष्ठ साहित्यकार तथा विशिष्ट अतिथि क्रषि आजाद, नेपाली भाषविज्ञानका ज्ञाता ज्ञानराज अर्याल, समालोचक तथा साहित्यकार अर्जुन सर लगायतले कविता संग्रहमाथि समालोचना गर्नुभएको थियो । समालोचकहरुले कार्कीको कवितामा हरेक मानिसका जीवनको अनुभुति, राष्ट्रप्रेम, भ्रष्टाचार लगायतका राष्ट्रिय विसंगतिविरुद्ध चेतना, शृङ्गारको भावना समेटिएको बताउँदै पठनयोग्य भएको बताउनु भयो ।

प्रमुख अतिथि पौडेलले कार्कीका कवितामा हरेक मानिसका मनोदशा र यथार्थ कुराहरुलई टपक्क टिपेर कविता संग्रह बनाएकोमा खुसी ब्यक्त गर्दै प्रसंसा गर्नुभयो । उहाँले अब देशभर पुस्तकालयको महत्व बताउने अभियान चाल्नु पर्ने बताउनु भयो । पछिल्लो समय पुस्तकालय कितावको डम्पिङ साइटको रुपमा परिणत बन्दै गएको भन्दै पौडेलले पुस्तकालयलाई साँच्चैको पुस्तकालय बनाउनु पर्नेमा जोड दिनुभयो । धवल पुस्तकालयका सचिव टंक पन्थले कार्कीको कवितासंग्रहले सिंगो समाज बोकेको बताउनु भयो । कृतिमाथि बाल साहित्यकार जोशिका कँडेल ‘निशा’ ले काब्यमार्फत् समिक्षा गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा विष्णु घर्ती ‘भनभनेली’ द्धारा स्थापित पुरस्कारबाट कपिलवस्तुका तिन साहित्यकारहरु राघवेन्द्र कुमार श्रीवास्तव, पशुपतिमणी त्रिपाठी र दधिराम सापकोटा (मृत्युपर्यन्त) सम्मानित हुनुभएको छ । उहाँहरुले नेपाली वाङमयको श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष दिलिप कार्कीले बताउनु भयो ।

कार्यक्रममै बुटवल नयाँगाउँकी कक्षा १२ मा पढ्ने कविता अधिकारीको ‘कविताको कविता संग्रह ’ पनि विमोचन गरियो । सो कवितासंग्रहमाथि साहित्यकार विष्णु भण्डारीले टिप्पणी राख्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा ३०० औँ पृथ्वी जयन्ति पनि मनाइएको छ । अर्जुन सरले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जीवनी र उहाँबाट लिन सकिने दिव्यो पदेशको बारेमा एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पाल्पाका साहित्यकार टंक पन्थले कार्यपत्रमाथि टिप्पणी राख्दै अहिलेका नेता र मानिसले शाहको दिव्योपदेश भुल्दा मुलुकले संकट भोगिरहेको बताउनु भयो ।

कृतिकार तथा बाणगंगा पुस्तकालयका अध्यक्ष दिलीप कार्की र पुस्तकालयका उपाध्यक्ष तथा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईको अध्यक्षता, सचिव बुद्धिसागर बेलबासेको संचालन, पत्रकार तथा साहित्यकार चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा दर्जन बढी श्रष्टाले रचना बाचन गरेका थिए ।

अधिकांस रचनामा पृथ्वी नारायण शाहको महिमागान थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका ३ दर्जन बढी श्रष्टा, साहित्यानुरागीको सहभागिता थियो भने यस क्षेत्रका विशिष्ट ब्यक्ति पनि सहधागि भई रचनामार्फत् आनन्द लिएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  १ : ३२ बजे