४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

ओमिक्रोन संक्रमण रोकथाम आदेश जारी



काठमाडौँ ।
सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको हो ।

शुक्रबारको बैठकले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ जारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन् ।

मन्त्रिपरिषद् बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोप अभियानलाई प्रभावकारीरुपमा र प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७८ शनिबार ००:००  ५ : ३५ बजे