१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चन्द्रागिरिमा चक्कु हानेर एक जनाको हत्या, एक घाइते



काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ ।

अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने ।
प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।
उनीहरुबीच यसअघि पनि झगडा भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘घटनाको कारणबारे अनुसन्धान जारी छ,’ डीएसपी पाण्डे भन्छन्, ‘अनुसन्धानका क्रममा थप कसैको संलग्नता खुले उनीहरु पनि पक्राउ पर्छन् ।’
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८ सोमबार ००:००  २ : ४४ बजे