१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वैशाखमै स्थानीय तहको चुनाव गर्न गठबन्धन सहमत



काठमाडौँ ।

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ ।

आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिस अनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ । श्रोतका अनुसार आयोगले सिफारिस गरेको मिति आसपासमै सरकारले मिति निर्धारण गर्नेछ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  १२ : १४ बजे