२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

आजविश्व कुष्ठरोग दिवसः समयमै उपचार गरे निको हुन्छ



काठमाण्डौ ।

आज ६९ औँ विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ । यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने विज्ञहरुको भनाइ छ । लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ८ : ५७ बजे