१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनुभएको छ ।

आज शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनुभयो ।शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी सङ्कलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

उहाँले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनु भयो ।

मन्त्री देउवाले शहीदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताउनु भयो ।प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकाले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र सङ्घीय शासन व्यवस्थालाई बलियो बनाएर देशलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

मेयर शाक्यले काठमाण्डौ महानगरपालिकाले शहीदहरुको सम्झनास्वरुप माघ १० गते शहीद शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको बताउनुभयो।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  १२ : ४७ बजे