२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कृष्णनगरपालिकाको भवन औपचारिक रुपमा उद्घाटन



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कार्यालय भवन आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । बजार क्षेत्रमा अवस्थित नगरपालिकाको भवनबाट दुई बर्ष अगाडी देखि नै सेवा दिन थालिए पनि आइतबार विधिवत् रुपमा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

भवन निर्माणको काम सबै सकिए पछि विधिवत् रुपमा उद्घाटन गरेका हौं, नगर प्रमुख रजत प्रताप शाहले भन्नुभयो ।

नगर प्रमुख शाहका अनुसार आफ्नो भवन नहुँदा कामकाज गर्न अप्ठ्यारो भएपछि निर्माणधिन भवनबाट काम थालिएको थियो ।

अहिले भवनको रंगरोगन, मार्वल, टायल्स र फर्निचरका सामान राखेपछि नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि भवनको शिल्यानास गरेको हो ।

भवनको प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले उद्घाटन गर्नुभएको छ । नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटनसस्त्रमा नगरकार्यपालिका सदस्य, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कृष्णनगर नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको भएपनि यसको कार्यन्वयन २०७१ जेष्ठ ४ देखि भएको थियो । पुरानो कृष्णनगर गाविसबाट नगरपालिकाले सेवा सुचारु गरेपनि त्यहाँ साघुँरो भएपछि वेवारिशे अवस्थामा रहेको कृष्णनगर अस्पतालमा लगिएको थियो । त्यहाँ पनि साँघुरा कोठाबाट नगरपालिकाले सेवा सुरु गरेको थियो । पछि ०७४ सालको स्थानीय तहको चुनाव अगाडी नै भवन बनाउन ठेक्का लागेको थियो ।

ठेकेदारले समयमा नै काम नसक्दा भवन निर्माणको काम धेरै बर्ष लागेको हो । बजेटको प्रयाप्तता नहुँनु र कोराना भाइरसको कारण कामले गति लिन सकेको थिएन् । पछि नगर प्रमुख रजत प्रताप शाहको सक्रियतामा भवनको कामले गति लिएर अहिले सञ्चालनमा आउन सफल भएको हो ।

आफ्नै भवनबाट सेवा सुचारु गर्न पाउदा आफुहरु खुसी भएको नगर प्रमुख शाहले मायादेवी अनलाइनलाई बताउनुभयो । अब आफ्नै भवनबाट विषयगत कार्यालय र नगरका सम्पूर्ण काम हुने उहाँको भनाई छ ।

भवन उद्घाटन समारोहमा नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नुभएका हाल शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गशेण प्रसाद अर्यालले पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ६ : ५० बजे