१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालालाई प्रदेश सरकारको आश्वासन



भैरहवा ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको छ । संघ मातहत रहेको रङ्गशालामा प्रदेशले पनि लगानी गरि अन्र्तराष्ट्रिय स्तरको खेल मैदान बनाउन सहयोग गर्ने भएको हो । लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकूद मन्त्री वसिउद्दिन खाँले रङ्गशालालाई बिभिन्न उपकरण खरिदका लागि तत्काल बजेटको ब्यवस्था गर्ने आस्वासन दिए ।

सोमबार बिहान रङ्गशालाको अवलोकन गर्दै मन्त्री खाँले यसलाई अगाडि बढाउन प्रदेश सरकारले संघ सरकारसँग सहकार्य गर्ने बताए । “गौतम बुद्धको जन्मस्थल भएको हिसाबले यो रङ्गशाला प्रदेशकै गौरवको रुपमा रहेको छ ।”–मन्त्री खाँ ले भने, “यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनोस भनेर प्रदेश सरकारको पनि मान्यता छ र यहि मान्यता अनुसार हामी अगाडी बढ्नेछौं ।” प्रदेश सरकारकै लगानीमा छात्रावास सहितको एकेडेकी खोल्न गईरहेको उनले बताए । क्रिकेटमा रुचि रहेका गरिब र विपन्न विद्यार्थीलाई लक्षित गरि रुपन्देही क्रिकेट संघको सहकार्यमा एकेडेमी सञ्चालन गरिने खाँले जनाए । उनले रङ्गशालालाई बाह्रै महिना कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा ब्यवस्थित योजना बनाएर अगाडि बढ्ने बताए ।

भैरहवाको बीचमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा अहिले बिभिन्न उपकरणको अभावमा खेल सञ्चालन गर्न नसकेको विषय रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गले जानकारी गराएका थिए । मैदानको लागि आवश्यक पर्ने ईलेक्ट्रोनिक रोलर, साईड स्क्रिन, सुपर सोकर, बाउण्ड्री रोप, स्कोर बोर्ड लगायतका उपकरणहरुका लागि करिब ५० लाख बजेट आवश्यक रहेको गुरुङ्गले मन्त्री खाँलाई जानकारी गराए । मन्त्रीले खाँले दिएको आश्वासनले रुपन्देही क्रिकेटमा सकारात्मक तरङ्ग ल्याएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । उनले नेपाल क्रिकेट एशोसिएसनलाई रुपन्देही क्रिकेटको मेरुदण्डका रुपमा लिइएको बताए ।

सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले भिआइपी प्याराफिट सहित ७ हजार दर्शक क्षमताको रहेको र यसलाई भविष्यमा ११ हजार क्षमताको पुर्याईने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको भनाई छ । उनले राष्ट्रिय खेलकूद परिषदको सहयोगमा प्याराफिट निर्माणाधिन अवश्थामा रहेको र क्यानको भैरहवामा बसेको बैठकबाट २ जना मैदानमा काम गर्ने कर्मचारी थप गर्ने निर्णय भएको बताए । मल्लले खेलमैदानको गुरुयोजना नै बनाएर यसको डिपिआर गरेर अगाडि बढेको बताए । गुरुयोजना पूरा गर्न करिब ३० करोड बजेट आवश्यक पर्ने र अहिलेसम्म करिब १९ करोड लगानी भई सकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  २ : ५३ बजे