१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादीका असन्तुष्ट नेता श्रेष्ठ र विप्लवबीच भेट



काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद बढिरहेका बेला श्रेष्ठ र नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठलाई भेट्न विप्लव बिहान उहाँकै निवास हात्तीवनमा पुग्नुभएको छ । दुई नेताबीच एमसीसी अनुमोदन लगायतनका विषयमा छलफल भएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रमा प्रचण्ड र श्रेष्ठबीच दूरी बढेको छ । श्रेष्ठ संशोधन बिना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा हुनुहुन्थ्यो । दलहरुबीच एमसीसी समझौताबारे छलफल चलिरहँदा भैरहेको प्रदर्शनमा समेत श्रेष्ठ सहभागी बन्नुभएको थियो ।

विप्लवले पनि एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आउनुभएको छ । माओवादीमा अध्यक्ष प्रचण्डको कार्यशैली एकलौटी खालको भएको श्रेष्ठ पक्षधरले आरोप लगाएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै आम देशभक्त नेपाली नागरिकले यसलाई कालो दिनका रूपमा लिने टिप्पणी गर्नुभएको थियो ।
एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको तर्फबाट सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता श्रेष्ठको व्यवहारप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठलाई पार्टी छाडेर गए पनि फरक नपर्ने आशयको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको अभिव्यक्तिपछि श्रेष्ठ पक्ष चिढीएको छ । पार्टीभित्रै विरोध बढ्दै गएपछि अध्यक्ष प्रचण्डले हिजो श्रेष्ठ निवासमा गएर भेटघाट गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८ बुधबार ००:००  १२ : २१ बजे