९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकियो



काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइट सकिएको छ ।

बिहीवार र आज शुक्रवार दुई दिन भएको क्यालिब्रेशन फ्लाइटका कारण उडान तथा अवतरणमा समस्या भएको थियो । आज शुक्रवार पनि दुई घण्टा क्यालिब्रेशन फ्लाइट भएको थियो ।

फ्लाइटका कारण जहाज उडान तथा अवतरणमा समस्या भएको भए पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ुक्यालिब्रेशन फ्लाइटका कारण जहाज उडान र अवतरणमा केही कठिनाइ भइ आकाशमै होल्ड गराए थियौँ, केही जहाज अवतरण गराएका थियौँ, क्यालिब्रेशन फ्लाइट सकियो, अब सिमरामा क्यालिब्रेशन फ्लाइट हुन्छ।ु

करिब दुई घण्टासम्म भएको क्यालिब्रेशन फ्लाइटका कारण आज बिहान ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म धेरै जहाज आकाशमै होल्ड भएका थिए भने यस अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका थिए । क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकाशमै होल्ड भएका जहाजहरु अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

क्यालिब्रेशन फ्लाइट गर्नका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो । यसैगरी बिहीवार गरिएको क्यालिब्रेशन फ्लाइटका कारण पनि धेरै जहाज अकाशमै होल्ड गरिएका थिए ।

त्यही क्रममा कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएपछि पुनः कतार फिर्ता भएको थियो । तर विमानस्थलले भने जहाज क्यालिब्रेशन फ्लाइटका कारण फिर्ता नभइ आफ्नै कारणले फिर्ता भएको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  २ : ५६ बजे