१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

साढे ११ करोड खर्चेर भ्यु टावर निर्माण, ओलीले गरे उद्घाटन



बुटवल ।
रुपन्देहीको तिलोत्तमा- २, शंकरनगर वनबाटिकामा निर्माण गरिएको भ्यु टावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र र तिलोत्तमा नगरपालिकाको लगानीमा निर्माण भएको उक्त भ्यु टावरको मंगलबार ओलीले उद्घाटन गरेका हुन् ।

११ करोड ४५ लाख रुपैयाँको लागतमा भ्यु टावर निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए । १३४ फिट अग्लो ११ तले भ्यु टावरले ३ हजार ५९५ वर्गफिट क्षेत्रफल ओगटेको छ ।

टावरको पहिलो तलामा कार्यालय तथा विश्राम कक्ष, दोस्रो तलामा डिपार्टमेन्टल स्टोर, तेस्रो तलामा रेस्टुरेन्ट, चौथो तलामा विभिन्न प्रयोजनका लागि आठवटा कोठा रहेका छन् ।

यसैगरी, माथिका अन्य तलाहरूमा समेत विभिन्न प्रयोजनका लागि वातानुकुलित हलहरू निर्माण गरिएका छन् । टावरको १०औँ तलामा दृश्यावलोकनका लागि टेलिस्कोप राखिएको छ ।


आर्थिक वर्ष २०७३/७४ मा योजना प्रस्तावित भएर २०७४ चैत महिनामा ठेक्का सम्झौता भएको थियो । टावरसँगै २ बिघा क्षेत्रफलमा विभिन्न संरचनाहरू निर्माण गर्नेगरी काम अगाडि बढाइएको योजनाका अन्य कामहरू जारी छन् ।

सोमबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर जनयुद्ध स्मृति टावर उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८ मंगलबार ००:००  १२ : ४४ बजे