४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

रुपन्देहीका दुई स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी



रुपन्देही ।

रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

तिलोत्तमामा नेकपा एकीकृत समाजवादीका तर्फबाट आशाकुमारी चौधरीले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी ४३ वर्षीया उनी अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष पनि हुन् । तिलोत्तमा १३ मडहा घर भएकी उनी व्यवसायी हुन् ।
वि सं २०५६ मा नेकपा एमालेको सदस्य बनेर पार्टीमा सक्रिय रहेकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेकी हुन् । उम्मेदवार चौधरीले बेरोजगार युवालाई सीपमूलक तालिमका साथै महिलाको हक र अधिकार र सशक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिइन् । उनले शिक्षा, रोजगारी र स्वास्थ्यका एजेण्डा लिएर जनतासामु जाने बताइन् ।
यसैगरी लुम्बिनीमा लामो समयदेखि समाजसेवामा सक्रिय रमावती यादवले एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । दयाराम हेल्थ फाउण्डेशनका उपाध्यक्ष रहेकी उनले लुम्बिनी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएकी छन् ।

लुम्बिनी साँस्कृतिक–१ निवासी यादवले सामाजिक सेवामा क्रियाशील रहँदा नागरिकको मनोभावना राम्रोसँग बुझ्ने मौका पाएकाले सोहीअनुसार काम गर्न आफूले उम्मेदवारी दिएको बताइन् । महिलामाथिको विभेद अन्त्य, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गरी भौतिक विकास र मानवीय विकासको सन्तुलन मिलाएर नगरको विकासको योजना लिएर चुनावी मैदानमा गएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १ : ३६ बजे