१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नेकपा (एस) कपिलवस्तुको समिक्षाः चुनावी नतिजा सन्तोषजनक



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुले गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन पार्टीका लागि सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

चुनावको समिक्षाका लागि बाणगंगामा मंगलबार बसेको जिल्ला सचिवालय बैठकले स्थानीय चुनावमा परिणाम निकाल्ने गरि नतिजा नआए पनि जनताको अपार माया प्राप्त भएको निष्कर्ष निकालेको छ ।

पार्टी गठनको ८ महिनामै चुनावमा होमिनुपर्ने बाध्यता, जिल्लामा सुदृढ भइनसकेको संगठनात्मक संरचना, गठबन्धनका नाममा अल्झिनु परेको अवस्थाका बीच पनि अधिकांश पालिकामा उम्मेद्वार उठाउनु र कतिपय स्थानमा राम्रो मत ल्याउनुलाई एकीकृत समाजवादी कपिलवस्तुले चुनावी नतिजालाई सन्तोषजनक मानेको हो ।

जिल्लाभर कलम चुनाव चिह्नको प्रचार हुनुलाई पनि समाजवादीले प्रगतिको एक कदम मानेको छ ।

‘जनताको बीचमा कलम स्थापित हुन सक्नु नै हाम्रा लागि सुखद पक्ष हो एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले भने, ‘यद्यपि कतिपय स्थानमा जित्ने आकंलन गरेपनि विभिन्न परिस्थितिका कारण पराजय ब्यहोर्न पुग्यौं । यस विषयमा बैठकमा निर्मम ढंगले समिक्षा गरेका छौं ।’

जिल्लामा एकीकृत समाजवादीले एउटा वडा सदस्य जितेको छ । कृष्णनगर नगरपालिका वडा नं. १० मा समाजवादीका मुतर्जा मुसलमानले वडा सदस्य जितेका छन् ।

१० पालिका मध्ये यशोधरा गाउँपालिका र महाराजगञ्ज नगरपालिका बाहेक सबै पालिकामा समाजवादीले उम्मेद्वार खडा गरेको थियो ।

मायादेवी गाउँपालिकाको अध्यक्षमा समाजवादीका फैजल खान ३५ सय ४ मत ल्याउँदै तेस्रो स्थानमा आउन सफल भएका थिए ।

शिवराज नगरपालिकाको नगर प्रमुखमा समाजवादीका क्षेत्र बहादुर खत्रीले १६ सय ९७ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रसंग तालमेल भएपनि गठबन्धनले सोचे जस्तो मत परिणाम ल्याउन नसकेको समाजवादीको निष्कर्ष छ ।

बैठकले गठबन्धनका नाममा चुनावी तयारीलाई गम्भीर धक्का पुगेको महसुस गरेको छ । आसन्न प्रदेश र संघको चुनावका लागि तयारीमा लाग्ने गरि बैठकले योजना बनाएको छ ।

साथै बैठकले चुनावको बेला पार्टी भित्र अन्तर्घात गर्ने केहीँ नेतालाई लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ भने, कलम चुनाव चिह्नका उम्मेद्वारलाई भोट दिनुहुने पार्टी नेता, कार्यकर्ता र आम मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले बैठकको चुनावी समिक्षासंगै आगामी दिनको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा सचिवालय सदस्यहरुले आ–आफ्नो क्षेत्रको रिर्पोटिङ प्रस्तुत गरेको समाजवादीको प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  ६ : २५ बजे