३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

भिक्षुचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु



तौलिहवा ।

कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।

नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”

करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो ।

डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।

नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ३ : २८ बजे