१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यसकारण छ रक्तदान फाइदाजनक



काठमाडौं ।
मंगलबार जुन १४ विश्व रक्तदाता दिवस । रक्तदानले दोस्रो व्यक्तिको जीवन बचाएसँगै दातालाई समेत स्वास्थ बनाउँछ । त्यसैले रक्तदान लाई जीवनदान पनि भनिन्छ । सामान्यतया एउटा स्वस्थ व्यक्तिको शरीरमा ५ देखि ६ लिटर (करिब दस युनिट) रगत उत्पादन हुने गर्दछ ।

एक युनिट रक्तदान गर्दा ४७० मिलिमिटर रगत निकालिन्छ । ४७० एमएल रगत निकाल्नु भनेको शरीरमा भएको सबै रगतको करिब १४ प्रतिशत भएको चिकित्सकहरू बताउँछन् । रक्तदान नगरेपनि व्यक्तिको शरीरमा रगत निर्माण भएको १२० दिनभित्र सो रगत स्वत नष्ट हुने गर्छ भने सोही रगत अरूलाई दान गर्दा भने उत्पादन झनै छिटो हुने गर्छ । यसरी एकपटक रक्तदान गर्दा तीनजनाको जीवन बच्नसक्छ ।

कस्ता व्यक्तिले रक्तदान गर्ने ?
अठार वर्ष उमेर र कम्तीमा ५० केजी तौल भएका स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तचाप सिस्टोलिक १००–१८० तथा डायास्टोलिक ५०–१०० भएको अवस्थामा उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्नसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै, ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए, सामान्य रोगहरूको औषधि खाइरहेका व्यक्तिले पनि रक्तदान गर्न सक्छन् ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने ?
अठार वर्षभन्दा कम ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरूमा महिनावारी, गर्भवती भएको अवस्थामा रक्तदान दिन हुँदैन । ब्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने, चक्कर हुने वा बेहोस हुने समस्या भएमा पनि रगत दान गर्न नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेँगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा पनि रक्तदान गर्न हुँदैन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९ मंगलबार ००:००  ४ : २४ बजे