१३ असार २०७९, सोमबार | Mon Jun 27 2022

चुनौतीपूर्ण बन्दै बाँकेमा मातृ मृत्युदर



बाँके ।
बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।

अधिकांश महिलाको सुत्केरी पश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको तथ्याङ्क छ । उनन्‍तीस प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमी भएर मृत्यु भएको पाइएको छ । मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका छन् । गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले बताइन् ।

“नियमितरूपमा गर्नुपर्ने जाँच नगरी व्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन गाह्रो हुन्छ”, उनले भने, “कतिपयमा रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या देखिने गरेको छ ।” बाँकेमा आर्थिक वर्ष २०७७÷७८ मा ४६, २०७६/७७ मा ३५ र २०७५/७६ मा २९ सुत्केरीको ज्यान गएको थियो । मातृ मृत्युदर बढ्नुमा बालविवाह, उमेर नपुग्दै गर्भवती, पोषणको कमीलगायत कारण रहेको डा थापाले बताए । रासस

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ११ : ०९ बजे