४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

‘नेतृत्व छाड्नै नमान्ने जमशेर अली’



दीपक अनुरागी, बाणगंगा ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् जमशेर अलि मियाँ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका अलि व्यवसायमा सफल भएपनि उनले नेतृत्व गरेको संस्था पूर्ण रुपमा असफल हुँदै आएको छ ।

कपिलवस्तुको मुख्य व्यापारिक केन्द्र हो चन्द्रौटा । यहीँ चन्द्रौटामा उद्योगीहरुको नेतृत्व गर्दै आएका अली असफलताका पर्यायवाचीका रुपमा देखिएका छन् ।

०७२ मा चन्द्रौटा उद्योग बाणिज्य संघको अध्यक्षमा चुनिएका अलिले ७ बर्ष वितिसक्दा पनि अधिवेशन गराउने तिर सुरसार गरेका छैनन् । तोकिएको समयसीमा भित्र अधिवेशन नभएको भन्दै हालै मात्र कार्यसमिति सदस्य राजकुमार क्षेत्रीले राजीनामा दिएका छन् । क्षेत्रीको राजीनामाले पनि अलीको असक्षमतालाई झनै पुष्टि गराएको छ ।

संघको केन्द्रीय नेता भइसकेका अलीले विधान मिचेर हुकुमी शैलीमा संघ चलाउन खोजेपछि व्यवसायी असन्तृष्ट छन् । अधिवेशन हुन्छ हुन्छ भन्ने तर टार्दै जाने उनलाई बानी परेको छ ।

०७७ सालमा भएको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । चन्द्रौटा उद्योग बाणिज्य संघको अध्यक्षको हैसियतमा महासंघको निर्वाचनमा मतदाता बनेर गएका अली लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भए ।

अध्यक्षबाट माथिल्लो पदमा उक्लिए पनि उनले भूगोलको अध्यक्ष छाड्न मानेनन् । उनले केन्द्रीय सदस्य भएपछि राजीनामा गरेर अर्कालाई अध्यक्ष बनाउनुपर्ने थियो । यसले पनि उनी नेतृत्व छाड्नै मान्दैनन् भन्ने पुष्टि हुन्छ, ‘एक जना व्यापारीले भने ।’

संघको निर्वाचन २०७२ सालमा भएको थियो । संघको विधानमा नयाँ कार्यसमिति बनेको तीन बर्ष भित्र अधिवेशन गर्नैपर्ने प्रावधान छ । तर, यसको धज्जी उडाउदै ७ बर्ष वितिसक्दा पनि अधिवेशन गर्न अध्यक्ष अलीसहितको नेतृत्व पूर्ण रुपमा असफल भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद पाण्डे यो कार्यकाल सोचेजस्तो हुन नसकेको स्विकार गर्छन् । समयमा अधिवेशन गर्न नसक्नु यहीँ कार्यसमितिको दोष रहेको उनको स्विकारोक्ती छ ।

‘समयमा अधिवेशन हुन नसक्दा संघ लथालिंग जस्तै भएको छ । गल्ती स्विकार गर्नै पर्छ, हामी पूर्ण रुपमा असफल भयौं, पाण्डेले मायादेवीसंग भने, ‘अब तत्काल अधिवेशन गर्ने गरि जुटेका छौं ।’

संघले यहीँ साउन १५ गते साधारणसभा बोलाएको छ । १५ गते साधारणसभा गरेर साउन १९ गते अधिवेशन गर्ने गरि मिति तोकिएको छ । पटक पटक तोकिएको समयमा अधिवेशन गर्न नसक्दा यो पालि पनि अधिवेशन हुने हो की, नहुने हो अन्यौलमा व्यवसायी छन् ।

अधिवेशन समयमा गर्न नसक्नुमा अध्यक्ष नै दोषि रहेको अधिकांश कार्यसमितिको निचोड छ ।

‘हामीले आफ्नो कार्यकाल सकाउदा वित्तिकै अधिवेशन गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नै पर्ने हो, एक जना कार्यसमिति समस्यले भने, ‘एक बर्ष अध्यक्षको बुबाको निधन भयो, अर्को बर्ष आमाको निधन भयो, अर्को बर्ष हजका लागि साउदी अरविया जानु भयो, अर्को बर्ष महासंघको केन्द्रीय चुनाव आयो । यसरी परिस्थिती ठीक नहुँदा अधिवेशन गर्न नसकिएको हो ।’

ती सदस्यको भनाई अनुसार अधिवेशन नहुँदामा अध्यक्षका नितान्त व्यक्तिगत कारणले हो भन्ने पुष्टि हुन्छ ।

पहिलो कार्यकालमा पनि असफल भएका थिए अली
चन्द्रौटा उद्योग बाणिज्य संघको नेतृत्वमा आएको अली दोस्रो पटक हो । पहिलो पटक पनि अलीले अधिवेशन तोकिएको मितिमा गर्न सकेका थिएनन् ।

यतिसम्म की अध्यक्षमा टाँसिरहन खोज्दा यसको मुद्धा अदालतसम्म पुगेको थियो । विधान विपरित अध्यक्ष चलेपछि उद्योगीहरुले संघको निर्वाचन माग गर्दै अदालतमा मुद्धा हालेका थिए ।

तीन बर्षे कार्यकालका लागि चुनिए पनि पहिलो कार्यकाल उनले ५ बर्ष चलाए ।

लामो समय संघको कार्यसमितिमा रहेर काम गरेका महादेव पोख्रेलले संघ राम्रोसंग चल्नुपर्नेमा जोड दिन्छन् । उद्योगी, व्यवसायीको साझा संस्था जति राम्रो हुन्छ, त्यसले समाजमा सकारात्मक सन्देश छर्नेमा उनको तर्क छ ।

हाल चेम्बर अफ कमर्शको कपिलवस्तु अध्यक्ष रहेका पोख्रेल चन्द्रौटा उद्योग बाणिज्य संघ प्रति कुनै टिप्पणी गर्न नचाहने प्रतिक्रिया दिए ।

‘म आफै चेम्बर अफ कमर्शको जिल्ला अध्यक्ष छु । म तेस्रो पटक अधिवेशनबाट अध्यक्ष भएको हुँ । कुनै संस्थाको अधिवेशन तोकिएको मितिमा नहुँदा त्यो कसरी चल्छ ? उनले थपे, ‘यसको उत्तर सबैले आ–आफ्नो ठाउँबाट खोज्नुपर्छ ।’

चन्द्रौटा उद्योग बाणिज्य संघ राजनीतिको रुणभूमिमा परिणत हुँदा समस्या आएको कतिपयको बुझाई छ । संघको निर्वाचनमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउँदा विशुद्ध व्यापारिकको संस्था यो गतिमा पुगेको हो । संघले अहिलेसम्म आफ्नो भवन बनाउन सकेको छैन् । निर्माणधिन भवनको काम सकिने कहिले हो टुंगो छैन् । उद्योगी, व्यवसायीको आवाज बुलन्द गर्ने संस्था आफै घाइते भए पछि यसको औषधि उपचार तत्काल गर्नुपर्नेमा चन्द्रौटाका व्यापारी एकजुट हुन थालेका छन् ।

र, यो पनि…

१२ औँ कपिलवस्तु महोत्सवको हिसाबकिताब गायब, आयोजक भन्छ–‘पैसा उठेन’

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ९ : ३३ बजे