६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बुद्धभूमि नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठ)



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाले आव ०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

विहीबार ११ औं नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

यी पनि पढ्नुहोस्

बुद्धभूमि नगरपालिकाले ल्यायो १ अर्व १९ करोड ९५ लाखको बजेट

बुद्धभूमिको नीति तथा कार्यक्रमः आन्तरिक रोजगारी प्रवर्द्धन देखि श्रमको सम्मानसम्म

आ.व. २०७९/०८० का लागि बुद्धभूमि नगरपालिकाको नीति तथा कार्यक्रम

नगर उप-प्रमुख ज्यू

नगर सभाका सदस्य ज्यूहरू,

  • नेपालको संविधान बमोजिम दोस्रो कार्यकालको पहिलो बर्षको लागि  बुद्धभूमि नगरपालिकाको स्थानीय सरकारको हैसियतबाट यस गरिमामय एघारौं नगरसभा बैठक समक्ष आर्थिक वर्ष २०७९/०८०को लागि  नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरवको अनुभूति गरेको छु ।
  • नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रियहित, स्वाभिमान, लोकतन्त्र र जनजीविकाका लागि भएका विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सर्म्पूण ज्ञात, अज्ञात शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
  • स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा सक्रिय सहभागी भई निर्वाचनलाई सफल बनाउनुहुने सम्पुर्ण मतदाता, राजनैतिक दल, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा संचारकर्मी साथीहरूमा हार्दिक बधाई दिन चाहन्छु ।निर्वाचनको समयमा आम बुद्धभूमि नगरबासी बीच गरिएका प्रतिवद्धताहरू सरोकारवाला सम्पूर्णको समन्वय रसाझेदारीमा आगामी ५ वर्षमा क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।
  • नेपालको संविधानले दिएको अधिकार भित्र रही बुद्धभूमि नगरपालिकालाई स्थानीय सरकारको रूपमा क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार तथा अनियमितताको नियन्त्रण र सुशासन प्रवर्द्धनलाई उच्च प्राथामिकतामा राखी सार्वजनिक सेवा प्रवाहको प्रबन्ध मिलाइनेछ ।साथै संविधानको भावना अनुरूप स्थानीय तहका ऐन, नियम, विनियम, कार्यबिधि निर्माण गर्ने र नगरको आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखी विकास र सुशासनका कार्यक्रमहरूको सुप्रबन्ध गरिनेछ ।
  • हाम्रा अगाडि तत्काल नगरी नहुने कामहरू धेरै छन् । ती सबैलाई आवश्यकता, औचित्यतताको आधारमा प्राथमिकीकरण गरी आवश्यकता र हाम्रो सार्मथ्य बीच सन्तुलन मिलाई पुरा गर्दै जानु छ । हाम्रा सामु अल्पकालिन, मध्यकालिन र दीर्घकालिन अभिभाराहरू छन् । ती अभिभाराहरूलाई सिलसिलेवार सम्बोधन गर्न तथा प्राथमिकता निर्धारण गर्न आवधिक योजनालाई समसामयिक परिमार्जन गर्दै कार्यान्वयनमा ल्याइने छ ।
  • आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्माणको क्रममा नेपालको संविधानमा भएको व्यवस्थाहरू तथा संविधानको अनुसूची ८ र ९ अनुसारका एकल अधिकार र साझा अधिकारका सूचीहरूमा भएका व्यवस्थाहरू, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरू, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन, संघीय मन्त्रालय तथा प्रदेश सरकारका निकायहरूबाट समय समयमा जारी भएका मार्गदर्शनका साथै स्थानीय तहसँग सम्बन्धित कानूनहरूकोदिशानिर्देशनलाई मध्यनजर गर्दै आम सरोकारवालाबाट प्राप्त सुझावहरू, विषयगत समितिहरूबाट प्राप्त सुझावहरू, वस्ती/टोल तथा वडा भेलाहरूबाट प्राप्त भएका सुझावहरू र सार्वजनिक अपिलबाट प्राप्त सुझावहरू तथा नगरवासीहरूले समय समयमा दिनुभएको राय सुझावहरू यस नीति तथा कार्यक्रमका आधारशिलाको रूपमा रहेको छ ।
  •  स्थानीय तहको पहिलो कार्यकालबाट स्थानीय सरकार सञ्चालनका आधारभूत मूल्य-मान्यता तथा विधि र पद्धति तयार भएको  छ । पहिलो कार्यकालमा स्थानीय सरकारको अभ्यासलाई सफल पार्न सहयोग पुयाउनुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पहिलो कार्यकालमा सुरूवात गरिएका योजनाको निरन्तरता तथा असल अभ्यासलार्इ प्राथमिकता साथ कार्यान्वयन गर्दै लगिनेछ ।सक्षम प्रशासकीय संयन्त्र तथा प्रभावकारी सेवा प्रवाह मार्फत आधारभूत तहमै सुधारको अनुभूति हुने गरी सेवा प्रवाहको प्रवन्ध मिलाईने छ ।
  • गर्नुपर्ने कामको फेरिस्त लामो छहाम्रो स्रोत, साधन र सार्मथ्यको उच्चतम परिचालन गर्दै तीकार्यहरू प्राथमिकीकरण गरि कार्यान्वयन गरिनेछ ।COVID 19 ले हाम्रो स्वास्थ्य प्रणाली माजबुद बनाउनु पर्ने संकेत गरेको छ । सक्रिय श्रमशक्तिको परिचालन गर्दै रोजगारमुलक क्रियाकलाप सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका दाजुभाईहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न कार्यक्रम निर्माण, सडक सञ्जालहरूको स्तरोन्नति तथा उत्पादनमा आधारित अनुदान, एकल महिला, ज्येष्ठ नागरिकको आत्मसम्मान, विपद् तयारी तथा प्रतिकार्य, छात्रा छात्रवृत्ति, स्वास्थ्य पूर्वाधार निर्माण मर्मत तथा सेवा प्रवाह प्रविधिमैत्री बनाउनुका अलावा वडा कार्यालयबाट प्रवाह हुने सेवालाई जनमैत्री/ प्रविधिमैत्री बनाउने जस्ता विषयहरूलार्इ यथोचित सम्बोधन गर्ने गरी आगामी बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने छ ।

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका उद्देश्यहरूः

  • गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरूको निर्माणद्बारा समृद्ध बुद्धभूमि र सुखी बुद्धभूमि रहने छ ।
  • उत्पादकत्व अभिवृद्धि
  • आन्तरिक रोजगारी प्रवर्द्धन र श्रमको सम्मान,
  • विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधार,
  • सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति ,
  • गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता,
  • सुशासन अभिवृद्धि
  • समन्वय तथा साझेदारी

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका प्राथामिकताहरूः

  • गौरवका योजनामा निरन्तरता तथा अधुरा योजनाहरू पुरा गर्न उच्चतम जोड,
  • सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारहरू निमार्ण सँगै गुणस्तरीयता वृद्धि,
  • कृषि तथा पशु विकासको आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरण
  • विपद् सम्बोधन र कार्यालयको सेवा प्रवाह जनमैत्री, प्रविधिमैत्री बनाउने ।
  • आत्मनिभर र उद्यमशीलतामा जोड दिने,
  • सेवा प्रवाहको गुणस्तरीयता अभिवृद्धि
  • सरोकारवालासँगको फराकिलो साझेदारी अभिवृद्धि ।

आ.व. २०७८/०७९ को नीतिगत स्थितिको संक्षिप्त समिक्षा

  • अत्यावश्यक कानूनहरूको तर्जुमा भएको ।
  • कार्यविधिहरूको निर्माणले कार्य सरलीकरण भएको ।
  • नगरस्तरीय साना, मझौला योजनाहरूको कार्यान्वयन मार्फत आधारभूत पूर्वाधार निर्माण भएको ।
  • स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकता दिदै १५ शैय्याको अस्पताल निर्माण तथा स्वास्थ्य चौकीहरूको भवन निर्माण कार्य अगाडि बढी सकेको ।
  • चालु आ.व. मा १५ महिना देखि १५ वर्ष उमेरका सबैलाई टाइफाइड रोगको खोप लगाइएको तथा १ वर्ष भन्दा माथिका सबैलार्इ हैजाको पहिलो चरणको खोप पुरा गरी दोस्रो चरणमा प्रवेश गरेको ।
  • राजश्व संकलनको लागि यथोचित प्रयास गरिएता पनि राजश्व उठ्ति अपेक्षाकृत नरहेको । नदीनाला ठेक्कामा नजादा राजश्व कमी ।
  • नगर तथा वडा स्तरबाट सञ्चालनमा रहेका कुल ४५० योजनामा ८०% योजना फरफारक भइ २०% कार्यान्वयनको अन्तिम चरणमा रहेको ।
  • सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थासँगको साझेदारीपूर्ण सहकार्य कायम रहेको ।
  • कार्यविधि मापदण्ड निर्माण अपेक्षित रूपमा भएको ।
  • वढदो सञ्चालनगत खर्चलाई वाञ्छित सिमामा राख्ने प्रयास गरिएको ।
  • सुशासन र सेवाप्रवाहमा सुधारको थालनी गरिएको ।नगरबासीका माग, गुनासो, सम्बोधनको लागि सक्रिय सरकारको अवधारणा अनुरूप कार्य भएको ।
  • स्व.मूल्याकन सन्तोषजनक रहेको यसमा क्रमशः सुधार भएको र अरू बढी सुधार गर्दै जानु पर्ने ।
  • जनताको सन्तुष्टि स्तर मापन गर्दै अपेक्षा पुरा गर्ने तर्फ अग्रसर रहेको ।
  • संघीय तथा प्रादेशिक राज्य संरचनाहरूबाट सोचे अनुरूप सहयोग, साथ, सर्मथन प्राप्त नहुँदा संस्थागत, पूर्वाधारजन्य क्रियाकलापमा गुणात्मक फड्को मार्नु पर्ने ।
  • संविधानको मर्म र भावना अनुरूप स्थानीय तहको दोस्रो कार्यकालको लागि स्वच्छ, निष्पक्ष र पारदर्शि तवरले निर्वाचन सम्पन्न भएको ।
  • स्थानीय उत्पादनलाई बजारसँग पहुँच स्थापित गर्न कोसेली घर निर्माण सम्पन्न भएको ।
  • नयाँ लघु उद्यमी थप र  पुराना लघु उद्यमीको स्तरोउन्नती,
  • सहकारी संस्थालाई सूचना प्रविधिमैत्री बनाउँदै COPOMIS मा आवद्ध गरिएको ।
  • उद्यमीहरूको लागि साझा सुविधा केन्द्र निर्माण भइरहेको ।
  • व्यवसाय दर्ता तथा नवीकरण व्यवस्थापनमा उद्योग वाणिज्य संघसँग सहकार्य भएको ।
  • नगर क्षेत्र भित्रका रणनैतिक महत्वका योजनालाई गौरवका आयोजनाका रूपमा निर्धारण गरी कामहरू प्रारम्भ भएको ।
  • ३३ जना ६० बर्ष उमेर पुगेका राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविकालाई आर्थिक सहयोग सहित सम्मान गरी विदाइ गरिएको ।

नगरसभा सदस्यज्यूहरूः

अब म क्षेत्रगत रूपमा आगामी आ.व. २०७९/०८०का क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

भौतिक पूर्वाधार विकास क्षेत्रः

“भौतिक पूर्वाधार-समृद्धिको आधार”

  • योजनाहरूको दिगोपना:नगरपालिका क्षेत्रभित्र निर्माणधिन भौतिक योजनाहरू दिगो, व्यवस्थित र दीर्घकालीन एवं वातावरण मैत्री विकासका लागि नगरस्तरीय आवधिक योजना निर्माण गरी पूर्वाधार निर्माणका कार्यलाई गुणस्तरीय र दिगो रूपमा लगिनेछ ।
  • रणनीतिक सडक तथा चक्रपथको बाँकी खण्डको निरन्तरताःयस नगरपालिको मुख्य सडक मध्येको टिक्कर-बुडढी-विजगौरी हुलाकी सडक दुई लेनमा विस्तारकोकामकोप्रथम खण्ड पुरा भै सकेको छ । सो को निरन्तरता रहनेछ । नगर चक्रपथको बाँकी कामलाई निरन्तरता दिइनेछ र क्रमागत अधुरा सडक योजनाहरूलाई प्राथमिकता राखी कार्यान्वयन गरिनेछ । नगर चक्रपथमा पर्ने ठूला पक्की पुलको लागि सह-लगानीलाई प्राथमिकता दिइनेछ ।
  • लागत साझेदारीःनगरको लगानीलाई कम तथा जनताको अपनत्व र उत्साहलाई कायम र बढोतरी गर्न नगरपालिका र उपभोक्त समितिको  ५०:५०, ६०:४०, ७०:३० को अनुपातमा लागत साझेदारी हुनेगरी सञ्चालन हुने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
  • सिचाई प्रणालीको सुधार विस्तारः बुद्धभूमि नगरपालिकालाई कृषिमा आत्मनिर्भर र खाद्यान्नको निकासी मार्फत आयस्तरमा सुधार गर्न सिंचाई प्रणालीको सुधार, विस्तार र सुदृढीकरणकोलागि बजेट व्यवस्था गरिनेछ । साथै सिचाईमा नवीकरणीय उर्जा प्रणालीको उपयोग गरिनेछ ।
  • योजनाको खण्डीकरण रोक्ने सम्बन्धमाः नगरक्षेत्रमा सञ्चालन हुने योजनाहरू गुणस्तरीय र तत्काल प्रतिफल दिने खालका योजनालाई प्राथमिकता दिइनेछ । नगरपालिकाबाट नगर गौरवका योजना, नगरस्तरीय मझौला योजना र साना योजना गरि योजनाको प्राथमिकता निर्धारण गरिनेछ । नगरपालिकाबाट मर्मत सम्भारका योजना बाहेक रू.५ लाख भन्दा साना योजना सञ्चालन गरिने छैन । साथै वडा कार्यालयमा विनियोजित पूँजीगत खर्च तर्फ कम्तिमा ५० प्रतिशत रकम बराबरको योजना ८ लाख भन्दा माथिको, ३० प्रतिशत रकम बराबरको योजना ४ लाख माथिको र बाँकी रकम तत्काल सम्बोधन गर्नुपर्ने र मर्मत सम्भारका योजनाका लागि विनियोजन गर्ने नीति अख्तियार गरिनेछ ।
  • गुरूयोजना सम्बन्धमाः सडकको गुरूयोजना तयार गरी सडकको मापदण्ड निर्धारण गरी दिगो सडक निर्माण कार्य अगाडि बढाइनेछ ।
  • उपभोक्ता समितिमार्फत योजना सञ्चालन सम्बन्धमाः उपभोक्ता समितिले कार्यान्वयन गर्न सक्ने प्रकृतिका योजना मात्र उपभोक्ता समिति मार्फत सञ्चालन गरिनेछ । रू. १० लाखसम्मको योजना मात्र उपभोक्ता समितिबाट सञ्चालन गरिनेछ । भवन निर्माण, सडक कालोपत्रे, ठूलो रकम खरिदमा लाग्ने जस्ता जटिल प्रकृतिका योजनाहरू निर्माण व्यवसायी मार्फत मात्र गरिनेछ । रू. ८ लाख भन्दा बढीको हकमा ready-mix प्रयोग गर्ने गराउने व्यवस्थाको निरन्तरता रहने छ ।
  • योजनाको सम्झौता तथा सञ्चालन:विनियोजित रकमका योजनाहरू नगरपालिकाबाट कार्यान्वयन कार्ययोजना तथा अनुगमन योजना बनाई कार्यान्वयन गर्ने प्रवन्ध मिलाइनेछ । जटिल प्रकृतिको खरिद गर्नुपर्ने, संघ, प्रदेश र अन्य साझेदारी निकायबाट प्राप्त योजनाको सन्दर्भमा आवश्यकताको आधारमा सोही आ.व.मा सम्पन्न हुने गरी सम्झौता गरिनेछ । निर्माण व्यवसायी मार्फत हुने खरिद प्रक्रियलाई E-bidding मार्फत गरिनेछ । सडक पिच गर्ने, सरकारी भवन निर्माण गर्ने, सामाग्री खरिद गर्ने प्रकृतिका योजनाहरू उपभोक्ता समितिबाट नगराउने प्रबन्ध अनिवार्य रूपमा लागूगर्ने नीतिको निरन्तरता रहनेछ ।
  • योजना सम्पन्न गर्ने समय सारणी सम्बन्धमाःसमयमै योजना सम्पन्न गर्न तथा गुणस्तरीयता अभिवृद्धि गर्न नगरपालिकाले समय सारिणी सहितको योजना कार्यान्वयन कार्ययोजना तयार गरी लागू गरिनेछ ।
  • स्वास्थ्य पूर्वाधार निर्माणमा प्राथामिकताः जीर्ण स्वास्थ्य चौकी निर्माणलाई उच्च प्राथामिकता दिइनेछ । नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति, लुम्बिनी  प्रदेश सरकार र नेपाल सरकारसँग समन्वय गरी सह लगानीमा निर्माणको थालनी गरिनेछ । निर्माण प्रारम्भ भएको १५ शैय्याको अस्पताललाई उच्च प्राथमिकतामा राखि निधारित समयमै सम्पन्न गर्ने प्रबन्ध मिलाइनेछ ।
  • प्रोत्साहन योजना सम्बन्धमाः नगर बाट संचालन हुने योजनालाई समय सिमा भित्रै सम्पन्न गर्न वडाभित्रको योजनाहरू चैत मसान्त भित्र सम्पन्न गर्ने वडाहरूलाई प्रोत्साहन स्वरुप थप १० लाख सम्मको योजनादिने कार्यलाइ निरन्तरता दिइनेछ ।
  • सार्वजनिक निजी साझेदारीमा योजना सञ्चालनः विशिष्ट प्रकारका योजनाहरू सार्वजनिक निजी साझेदारी मार्फत सञ्चालन गरिनेछ ।
  • प्रशासकीय भवन निर्माण सम्बन्धमाः नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि आ.व. २०७९।०८० मा संघीय सरकार तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ । त्यसको लागि आवश्यक तयारी र आवश्यक बजेटको व्यवस्था गरिने छ ।  साथै वडा कार्यालयहरूको लागि आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न पहल गरिनेछ
  • खरको छानामुक्त अभियानलाई सार्थक रूपमा पुरा गर्न संघ तथा प्रदेश सँग समन्वय गरिनेछ । खरको छाना मुक्त अभियानलाई निरन्तरता दिइनेछ ।
  • नगर क्षेत्र भित्र निर्माण हुने घर नक्सा पासलाई अनिवार्य गरिने छ । नक्सा पास तथा अभिलेखीकरण गर्दा सडकको मापदण्ड तथा भवन निर्माण मापदण्डको पालना गरी स्वीकृति दिइनेछ । अभिलेखीकरणलाई शर्त सहित र अवधि तोकिने छ ।
  • नगरस्तरीय सडक खण्डमा पर्ने तथा अन्य रणनीतिक सडकहरूमा पर्ने पुल,कल्भर्ट निर्माणका लागि संघ तथा प्रदेश सँग सह-लगानीका लागि रकम व्यवस्था गरिनेछ । साथै रणनीतिक सडक खण्डमा पर्ने महत्वपूर्ण पुलहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य गरिनेछ ।
  • नगर क्षेत्रभित्र पर्यटकीय सम्भावना बोकेका ठाउँ, तालहरू, सास्कृतिक संग्रालयहरू तथा प्राकृतिक सौन्दर्यका स्थलहरूको प्रवर्धन गरी पर्यटन विस्तारको लागि पहुँच मार्ग निर्माण, पर्यटकीय पूर्वाधार निर्माण र पर्यटन सूचना केन्द्र स्थापनालाई जोड दिइनेछ ।
  • चालु आ.व. मा सञ्चालित तथा अघिल्ला आ.व. हरूमा सञ्चालन भएका योजनाहरूको मर्मत सम्भार, व्यवस्थापनका लागि कार्यविधि अनुरूप मर्मत संम्भार कोष सञ्चालन गरिने छ । आवश्यकता र औचित्यताको आधारमा कोषमा रकम व्यवस्था गरिनेछ । अघिल्ला आ.व. हरूमा कालोपत्रे भएका तर सानो मर्मत संम्भारले निर्मित पूर्वाधारको दिगोपना बढ्ने योजनामा यस्तो कोषको रकम खर्च गर्न प्राथमिकता दिइनेछ ।
  • गुणस्तरीयता परीक्षणका लागि जनशक्ती ब्यवस्थापन गरी कार्यालयमा ल्याब स्थापना गरिनेछ । रू. १० लाख भन्दा माथिका निर्माण कार्यको गुणस्तर परीक्षण रिपोर्टको आधारमा मात्र भुक्तानी गर्ने प्रबन्ध मिलाइनेछ ।
  • यस नगर भित्रका  डकर्मी/सिकर्मीलाई समयानुकुल प्राविधिक क्षमतामा अभिबृद्धी गर्न तालिम सञ्चालन गरिनेछ ।

सामाजिक विकास क्षेत्रः (स्वास्थ्य, शिक्षा,  खानेपानी तथा सरसफाई )

  • सुत्केरी पोषण कार्यक्रम सञ्चालन गर्न खाका तयार गरी संस्थागत गरिनेछ । नगरपालिकाबाट जटिल अवस्थाका सुत्केरी, नवजात शिशु तथा सुत्केरी महिलाहरूको थप उपचारको लागि स्वास्थ्य चौकीबाट सिफारिस भएमा प्रादेशिक अस्पतालसम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।  सुत्केरी तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी पोषण आहार निःशुल्क वितरणको व्यवस्था मिलाइनेछ ।
  • असाध्य रोग भनि नेपाल सरकारले १ लाख प्रदान गर्ने खालका रोगीहरूको लागि पोषण सहायता स्वरूप रू. १०,०००।– सहयोग दिने कार्यलाई निरन्तरता दिइने ।
  • यस नगरपालिका क्षेत्र भित्र १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण कार्य प्रारम्भ भई सकेको योजनालाइ तिब्रता दिइनेछ । मानपुर स्वास्थ्य चौकीबाट अगामीआ.व.मा सेवा प्रवाह हुनेगरी निर्माण कार्यलाई गतिशिलता दिइनेछ । शहरी स्वास्थ्य क्लिनिक, स्वास्थ्य शिविर लगायतबाट टोलवस्ती मै स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिदै लगिनेछ ।
  • सुत्केरी भएको तेस्रो र सातौं दिन घर घरमा गरिदै आएको निःशुल्क जाँच सेवालाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य संस्थाहरूलाई अभिलेखीकरण, प्रतिवेदन र अन्य कार्यहरू व्यवस्थित बनाउन प्रविधि मैत्री उपकरण उपलब्ध गराई सकिएकोले अनलाइन रिपोटिङ्ग सिस्टमको व्यवस्था मिलाइनेछ ।
  • आँखा शिविर, रक्तदान शिविर, पूर्ण खोप दिगोपना, पाठेघर जाँच जस्ता कार्यक्रमहरूको निरन्तरता र प्रभावकारिता वृद्धि हुने गरी बजेट व्यवस्था गरिनेछ । साथै नगरपालिकामा प्रत्येक शनिबार छन्दकाले बाबु अस्पतालबाट पुयाउदै आएको आँखाको निशुल्क सेवालाई निरन्तरता र गुणस्तरीय बनाइनेछ । उक्त अस्पतालसँगसमझदारी गरी निःशुल्क वा आंशिक शुल्क लिई बुद्धभूमिबासीको आँखाको अपरेसन गर्ने प्रबन्ध मिलाईनेछ ।
  • यस बुद्धभूमि नगरपालिकाको वडा नं. ९ इमिलियमा रहेको नागारिक आरोग्य सेवा केन्द्रको व्यवस्थापनलाई जनमैत्री र श्रोत सम्पन्न बनाइने छ ।उक्त केन्द्रबाट सामाजिक आनीबानी तथा ध्यान योग जस्ता सेवा विस्तार गरी स्वस्थ्य नगरबासी बनाउँदै लगिनेछ । साथै सेवा केन्द्रमा योगाभ्यास हल निर्माण गर्न पहल गरिनेछ ।
  • नगरपालिकाबाट सबै उमेर समूहका नगरबासीलाई केन्द्रित गरी कार्यक्रमको तर्जुमा गरिनेछ । सामाजिक, आर्थिक रूपले पछि परेका वर्ग र समुदाय, महिला तथा बालबालिका, दलित, जनजाती, ज्येष्ठ नागरिक, अपाङ्गता भएको व्यक्ति, मधेशी मुस्लिम, अल्पसंख्यक, यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलगायत वर्गको क्षमता विकास गर्दै मूल प्रवाहीकरण गरिनेछ । नगरपालिका र वडाबाट लक्षित कार्यक्रमहरू मागको आधारमा सञ्चालन गरिदै लगिनेछ ।
  • थारू, दलित, जनजाती, मधेसी एकल महिला घर परिवार मुली भएका विपन्न परिवारका छात्रालाई प्राविधिक शिक्षा तर्फ माध्यमिक स्तरको शिक्षा (PCL) अध्ययनका लागि३ वर्ष सम्म अध्ययन शुल्क छात्रवृत्ति दिइने कार्यक्रमको निरन्तरता दिइनेछ ।
  • एकल महिलाहरूको व्यावसयिकता प्रवर्द्धनका लागि तालिम, पूँजी सहयोग गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छ । वडा तथा नगरबाट प्रदान गर्ने सुविधामा एकल घरमुली भएका घरमुलीलाई सुविधा र सेवामा प्राथमिकता दिइनेछ ।
  • बालविवाह मुक्त नगर घोषणा भई सकेकोले सो को निरन्तरताको लागि अनुगमन, निगरानी तथा सचेतीकरणका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गरिब तथा विपन्न बालबालिकाहरूको शैक्षिक र आधारभूत नैसर्गिक अधिकारको प्रवर्धनको लागि मागको आधारमा पोशाक वितरण प्रवन्धलाई ”विपन्न बालबालिकाको साथ नगरपालिका” भन्ने मान्यता अनुरूप विपन्न बालबालिकालाई पोशाक वितरणलाई थप प्रभावकारिताका साथ निरन्तरता दिइनेछ ।
  • बाल तथा पोषणमैत्री नगर घोषणा प्रयोजनको लागि बजेटको यथेष्ट व्यवस्था गरी काम अगाडि बढाइनेछ ।
  • सडक तथा असहाय बालबालिकाको संरक्षकत्व/अभिभावकत्वका लागि सम्बन्धित सरोकारवाला संस्था (SOS) बालग्राम जस्ता संस्थाको सहयोग तथा सहकार्यमा उद्दार तथा उत्थान कार्य गरिनेछ । बालश्रम मुक्त नगर बनाउन गैसससँग हातेमालो गरी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने ।
  •   सबै खालका लैङ्गिक हिंसाको अन्त्यको लागि शुन्य सहनशिलताको नीति अवलम्बन भैसकेकोले अप्ठयारो अवस्थामा परेका महिला बालबालिकालाई आपतकालिन उद्धार सहयोग गरिने व्यवस्था मिलाइनेछ । हिंसा पिडित महिलालाई उद्दारको लागि सेवा प्रदायक संस्थालाई दिने सहयोगमा निरन्तरता दिइनेछ । मानव बेचविखन नियन्त्रण तथा लैङ्गिक हिंसा न्यूनीकरणको लागि विभिन्न संघसंस्थाहरूको साझेदारीमा अभियानको रुपमा कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • , लागु औषध, घरेलु हिंसा, लैंगिक हिंसा, ट्राफिक सचेतना कार्यक्रम संचालन गरिनेछ ।
  • CarrierCounselling:SEE उत्तीर्ण गरेका बालबालिकाको अध्ययनको क्षेत्र एकिन गर्न अन्तरक्रियात्मक कार्यक्रम (carrier counselling) तथा प्रतिभाशाली विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने खालका सञ्चालन गरीनेछ ।
  • विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सुचक सहितको कार्यसम्पादन सम्झौता, वस्तुनिष्ट र व्यवहारिक बनाई प्रयोगमा ल्याइनेछ । साथै कार्यसम्पादन सम्झौता नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतले शाखा/वडा सचिवहरू सँग गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ । साथै कार्य सम्पादनको समिक्षा गरिने ब्यवस्था मिलाइने छ ।
  • युवाहरूलाई खेलप्रति अभिप्रेरणा जगाउन साथै आफ्नो प्रतिभालाई प्रर्दशन गर्ने अवसरको रूपमा लिनका लागि युवाहरूको मनोवल वृद्धिका लागि साथै नगरपालिकाको पहिचान कायम गर्न विगत देखि सञ्चालन गर्दै आइरहेको रनिङशिल्ड तथा मेयर कप, फुटबल, व्याडमिन्टन, डोरी तान, उसु खेलको निरन्तरता दिइने र क्रिकेट खेलप्रेमी युवाहरूको लागि नगरस्तरीय प्रतिस्पर्धात्मक खेल खेलाइने ब्यवस्था मिलाइने छ ।  साथै खेल मैदान/कर्भड हल निर्माण र खेल सामग्री सहयोग स्वरूप उपलब्ध गराउनुका अतिरिक्तक्रमिक रूपमा एक वडा एक खेलकुद मैदानको विस्तार र विकास गरिनेछ ।
  •  अधुरा खानेपानी योजनालाई सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । पुरानो खानेपानी प्रणालीको पुनस्थपाना तथा मर्मत सम्भार गर्ने, नयाँ योजनाहरूको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी आन्तरिक तथा वाह्य सहयोग जुटाई नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाइने छ । फोहोरमैला व्यवस्थापनको लागि अस्थाई डम्पिङ साइडको थप व्यवस्थित गरिनेछ ।
  • सामाजिक सुरक्षा लगायत पञ्जीकरणलाई सशक्त, प्रभावी बनाउन सामाजिक सुरक्षा दर्ता सुढृदीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सबै नगरबासीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने व्यवस्थालाई आगमी आ.व. सम्ममा सम्पन्न गरि सकिनेछ ।
  • अपाङ्गता भई स्नातक तहमा अध्ययनरत (पूर्ण अपाङ्गता तथा अति अशक्त) विद्यार्थीलाई पढाई सहजीकरणका लागि मध्यमस्तरका ल्यापटप खरिदमा ४०% नगरपालिकाबाट सहयोग गर्ने नीति लिइनेछ ।
  • मदरसा शिक्षाको मुल प्रवाहीकरण सघाउ पुर्‍याउन मदरसाहरूको शैक्षिक तथा पूर्वाधार विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
  • नगरक्षेत्र भित्रका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात तोकिएको मापदण्ड अनुरूप कायम गरिनेछ । न्यून दरबन्दी भएका विद्यालयहरूमा शिक्षण सिकाई अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ । शिक्षण सिकाई पद्धतिलाई वैज्ञानिक र सूचना प्रविधि मैत्री बनाउन सम्बन्धित विद्यालयको समेत लागत सहभागिता हुने गरी माध्यमिक स्तरका कम्प्यूटर जानेका शिक्षकलाई ”एक शिक्षक एक ल्यापटप” उपलब्ध गराउने नीति अख्तियार गरिने छ । शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) लाई प्रभावकारी रूपमा उपयोग गरिन्छ ।
  • दिवा खाजा कार्यक्रमलाई ६ (छ) कक्षासम्म विस्तारको लागि संघीय सरकारसँग सहकार्य गरिनेछ ।
  • विद्यार्थी भर्नादरलाई ९०% भन्दा माथि हुनेगरी अभियान सञ्चालन गरिनेछ । विद्यालय छोडनेदरकम गर्न अभियानत्मक कार्य सञ्चालन गरिनेछ ।
  • NGO/INGO को सहयोग र साझेदारीतामा सामाजिक क्षेत्रका कार्यक्रमहरू सञ्चालन गरिनेछ । सामाजिक क्षेत्रका घोषणा कार्यक्रमहरूमा-बालमैत्री, पोषणमैत्री, लैंगिक हिंसामुक्त जस्ता सामाजिक विकासका अभियानहरूमा) सहभागी र लक्षित भै कार्य गर्न प्रोत्सहित गरिनेछ ।
  • यस नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरूको संरक्षण, उपयोग तथा बजारीकरणका अलावा पराम्परागत प्रचलनहरूको संरक्षण, प्रवर्दधन तथा बजारीकरणका साथै थारू संस्कृतिको संरक्षण तथा बजारीकरणको ठोस कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ । धार्मिक, सांस्कृतिक स्थलको जानकारी दिने सूचना बोर्ड ठाउँ ठाउँमा राख्ने व्यवस्था मिलाइनेछ ।

आर्थिक विकास क्षेत्रः (कृषि, पशु सेवा, उद्योग, वाणिज्य, सहकारी, पर्यटन र अन्य)

  • अनुदानलाई उत्पादनमा आधारित बनाउँदै लगिनेछ । पशुजन्य उत्पादन, वितरण र बजारीकरणलाई सहज हुनेगरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
  • बरकलपुरमा रहेको रैथाने प्रविधि र रैथाने कच्चा पदार्थको उपयोगद्बारा निर्मित ढकिया लगायत हस्त निर्मित सामाग्रीको बजारीकरणका लागि बिक्री कक्ष थप व्यवस्थित बनाई प्रचार प्रसार गरिनेछ र ठूला व्यापारीसँग आवद्ध गराइनेछ । उपयुक्त स्थानमा रैथाने वस्तुहरूको बिक्री प्रबन्ध हुनेगरी सहकारीसँग कार्य सम्पादन सम्झौता (MOU) गरिनेछ ।
  • कृषि पेशालाई व्यवसायिक बनाउन कृषि यन्त्रहरू (मिनी ट्रिलर, कर्नसेलर, चापकट्टर लगायतका) मा अनुदानमा उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिइनेछ । साथै आधुनिक मेसिनहरू भित्र्याई कृषि उत्पादनमा उत्पादकत्व बढाइनेछ ।

एक घर एक करेसाबारी तथा एक गाउँ एक उत्पादनमा जोड दिइनेछ । सोका लागि संघ, प्रदेश तथा अन्य संघ संस्थासँग पनि तालिम, पुँजी परिचालनमा सहकार्य गरिनेछ ।

  • तालतलैया, घोला, खोला तथा बोरिङ्गबाट सिचाईका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटमा अनुदान उपलब्ध गराउन बजेटकोव्यवस्था गरिनेछ ।
  • पशुजन्य उत्पादन वृद्धि गर्न गाई भैसी तथा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिइनेछ । साझेदार संस्थाको सहयोगमा उन्नत जातका पशु भित्र्याउन पहल गरिनेछ ।
  • पशुपन्छी तथा खेतीमा हुने महामारीबाट हुने क्षतिवाट किसानलाई पर्न जाने हानीनोक्सानी वाट बचाउन कृषि तथा पशु विमाको व्यवस्था गरिनेछ ।
  • व्यवसायिक पशु फार्म व्यवस्थापनका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनबजेटको व्यवस्था गरिनेछ ।
  • पशुरोग नियन्त्रणको लागि पशु भ्याक्सिनेसन कार्यलाई निरन्तरता दिइनेछ ।
  • सक्रिय सहकारीलाई प्रवर्द्धन गर्दै निष्क्रिय सहकारीको दर्ता खारेजी गरी सहकारी शुद्धिकरण गरिनेरछ । साथै सहकारी संस्थामा डिजिटाइजेशनको प्रक्रिया अगाडी बढाई अनिवार्य रूपमा बाँकी सहकारीलाई COPOMIS मा आवद्ध गराइनेछ । सहकारी संस्थाको वित्तीय सुशासनको अवस्था पत्ता लगाउने र जोखिम न्यूनीकरणको लागि नियमित अनुगमनको प्रबन्ध मिलाइने छ । र सहकारी संस्थाको क्षमता विकासको कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जीर्ण अवस्थामा रहेका कृषि हाटबजारका टहराहरूलाई व्यवस्थित गरिनेछ साथै बजार सुन्दरीकरण गरिनेछ ।
  • नगरबासीहरूको स्वास्थ्य तथा मंहगी नियन्त्रण गर्ननगरपालिकाको बजार अनुगमन कार्यलाई निरन्तरता दिदै बजार अनुगमनको दायरा बढाइने छ ।
  • नगरपालिकाको गौरवको योजनाको रूपमा बुडढी ताल संरक्षण एवं सौन्दर्यीकरणको काम निरन्तरता दिइनेछ । बृजा ताल, हरिहरपुर ताल, रामलक्ष्मण ताल जस्ता तालतलैयाको संरक्षण एवं प्राकृतिक सुन्दरतालाई अभिवृद्धि गरी दिगो उपभोग गरिदै लगिनेछ ।
  • पालिकाको समग्र विकासलाई केन्द्रमा राखीअन्य मुलुकको नगरपालिकासँग मितेरी सम्बन्ध गाँस्नको लागिनेपाल सरकारबाट सहमति लिई नगरको विकासमा थप योगदान पुर्‍याईनेछ ।
  • मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई सामाजिक क्षेत्र र वञ्जितीकरणमा परेका वर्ग/समुदायलाइ लाभ हुने खालका योजनावाट सम्बोधनगर्न थप प्रयास गरिने छ । कृषि क्षेत्रमा वेरोजगार युवाहरूलाई उत्पादन मुलक कार्यमा लगाई रोजगार प्रदान गरिने छ । नगर भित्र सञ्चालन हुने योजनामा बेरोजगार युवालाई श्रमजन्य कार्यमा आवद्धता गराइनेछ ।
  • बुद्धभूमि नगरपालिकाको वडा नं. १० मोतीनगरलाई अवध सांस्कृतिक ग्राम बनाउने कार्यमा नगरपालिका स्वामित्व लिने गरी पूर्वाधार तथा सामाजिक क्षेत्रको काममा सहयोग, साझेदारी, समन्वय गरिनेछ ।
  • कर तिर्नु कर्तव्य मात्र होइन गौरव पनि हो भन्ने अवधारणाको विकास गर्दै नगर भित्र रहेका सम्पूर्ण उद्योगहरूलाई दर्ता प्रक्रिया मार्फत नगरमा अभिलेखिकरण गरी उद्योग व्यवसाय दर्ता अभियानलाई अगाडि बढाइने छ । नीजि क्षेत्रसँगको साझेदारीमा बार्षिक व्यवसाय कर संकलन गरी नगरको आन्तरिक आयमा वृद्धि गरिनेछ ।

वन, वातावरण, उर्जा तथा विपद् व्यवस्थापन क्षेत्रः

  • कानून बमोजिम प्राप्त हुने सामुदायिक वनको आम्दानीको २०%  बजेट सोही क्षेत्रको विकासको लागि उपयोग गरिनेछ ।
  • कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिका दुवैसँग आवश्यकता अनुरूप साझेदारीतामा वारूणयन्त्र सेवाको सहयोग लिनेछ । सो प्रयोजनका लागि प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने व्यवस्था मिलाइने छ ।
  • आगलागी, बाढी, पहिरो, डुवानको अवस्थामा उद्धार कार्य सञ्चालन गर्न अपुग न्यूनतम आवश्यक सामाग्री (जस्तैः भरयाङ्ग, सावेल, डोरी, हेक्सा, गैटी, बाल्टिन, लाइफ ज्याकेट लगायत) वडा कार्यालय रप्रहरी कार्यालयमा ब्यवस्थापन गरी विपद् प्रतिकार्य सामाग्री सहितकोनगरस्तरीय तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई विपद कर्नरलाई कार्यान्वयनमा ल्याइनेछ । गोरूसिगेंमा रहेको सर्पदंश उपचार केन्द्रलाई सरोकारवाला नगरपालिका सँगको सहकार्यमा समायनुकुल व्यवस्थित बनाउदै लगिनेछ ।
  • विपद् व्यवस्थापन तथा जलवायु अनुकुलन योजना तयार गरिने छ । उक्त योजनाले औल्याएका क्षेत्रहरूमा पूर्व सावधानी, उद्बार तथा पूर्नस्थापनामा खर्च गर्ने गरीप्रकोप व्यवस्थापन कोषमा यथेष्ट बजेट व्यवस्था गरिनेछ ।
  • नेपाल सरकारसँगको सहकार्य र सहयोगमा स्वचालित मौसम मापन प्रणालीको स्थापना गरी मौसम तथा बढी पूर्वानुमानको सूचना प्रणाली डिस्प्ले बोर्ड नगरपालिकामा स्थापना गरिनेछ ।
  • खाली तथा पर्तिजग्गाहरूमा संरक्षण सहितको वृक्षारोपण तथा जडीबुटी रोपणद्बारा हरियाली प्रवर्द्धन तथा आय आर्जनमा सहयोग पुग्ने गरी विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • फोहोरको न्यूनीकरणका लागि कम्पोष्टविन, कौशी खेतीलार्इ प्रवर्द्धन गरिनेछ । फोहोरको वर्गीकरण गरी कुहिने, नकुहिने र सिसाजन्य फोहोर फरक फरक दिनमा उठाउने प्रबन्ध मिलाइनेछ । फोहोरको दिगो व्यवस्थापनको लागि संघ/संस्थासँग सहकार्य गरिनेछ।
  • उन्नत र सुधारिएको चुल्होको प्रयोग,  खेर गएको पानीको उपयोग हुन सक्ने करेसाबारी निर्माण तथाघरमा ग्यासलाई इन्डेक्सन चुलो मार्फत प्रतिस्थापन गरिने नीति लिइनेछ । विद्युतीय चुल्होको प्रयोग बढाउने, दैनिक जीवनमा उर्जा र पानीको प्रयोगमा किफायती बन्ने विषयहरू सञ्चार गर्ने र नवीकरणीय उर्जालाई प्रोत्साहन गरिने छ ।
  • खोला/खोल्सा तथा उत्पादनशील जमिनहरूको क्षयीकरण रोक्न वृक्षारोपणका अलावा तटबन्ध निर्माणका सहयोग, बायो इन्जिनियरिङ्ग प्रविधि अवलम्बनको लागि समन्वय र सहकार्य गरिनेछ ।

सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रः

  •  प्रत्येक वडा तथा नगरपालिकामा नागरिक वडा पत्रको होर्डिङ्ग बोर्ड तथा सुझाव पेटिका राखिने छ ।
  • Digital Profile निर्माणःभौगोलिक सूचना प्राणालीको आधारमा संघ तथा प्रदेश तथा अन्य संघसंस्थाको सहकार्यमा भू-उपयोग नीति अनुरूप भूमि वर्गीकरण, स्रोतको पहिचान/नक्साङ्कन, घरपरिवारको सूचनासहितको विद्युतीय विवरण  Digital Profile निर्माण गरिनेछ ।
  • भूमिहिन सुकुम्बासी, अव्यवस्थिति बसोबासी सम्बन्धी बाँकी काम शिघ्रताका साथ पुरा गर्न आयोगमा पहल गरिनेछ ।
  •  बुद्धभूमि नगरपालिकामा आवश्यक पर्ने शाखा, उपशाखा, फाँट सोमा आवश्यक पर्ने कर्मचारी दरबन्दी र संख्या पहिचान गरी कार्यविवरण सहितको संगठन विकासको कार्यक्रम सञ्चालन गरिनेछ । जनप्रतिनिधि/ कर्मचारीहरूको क्षमता विकास योजना निर्माण गरिनेछ । क्षमता विकास योजनाको आधारमा जनप्रतिनिधि/कर्मचारीहरूका लागि तालिम/अवलोकन भ्रमणका कार्यक्रम सञ्चालन गरिने छ । मेलमिलाप केन्द्रलाई व्यवस्थित गरिनेछ ।
  •  राजश्व संकलनमा वृद्धि, अव्यवस्थित घर टहरा निर्माणमा रोक्नुको साथै पसल, कवल सञ्चालन पार्किङ्ग व्यवस्थापन, फोहोरमैला व्यस्थापन तथा नगरपालिकाले तोकेको मापदण्डका आचारसंहिता कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिनेछ ।
  •  ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति र ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणको सेवा घरमै पुयाउने व्यवस्थाको लागि पहल गरिनेछ ।
  • पहिलो चौमासिक भित्र बार्षिक विकास योजनाको समिक्षा, कम्तीमा प्रत्येक चौमासिकमा १ वटा सार्वजनिक सुनुवाई, पहिलो चौमासिकमाभित्र सामाजिक परीक्षण र योजना सम्पन्न पश्चात गरिने सार्वजिनक लेखा परिक्षणलाई निरन्तरता दिइनेछ ।
  • आन्तरिक नियन्त्रण प्रणाली कार्यालय (वडा समेत) को खर्चव्यवस्थापन सेवाको चुस्तता/प्रभावकारिता र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आन्तरिक नियन्त्रण प्रणाली स्थापना र कार्यान्वयन गरिनेछ ।
  • नगरको खरिद प्रक्रियालाई व्यवस्थित गर्न (PAMS) प्रणाली तत्काल लागू गरिनेछ । सोका लागि कर्मचारीलाई तालिमको व्यवस्था गरिनेछ ।
  • दिगो विकासका लक्ष्यहरूको स्थानियकरणको लागि चालू आ.व.मा भइरहेको कामका प्रतिवेदन र सोबाट प्राप्त सुझावका आधारमा आगामी आ.व.का योजनामा सुधार गर्दै लगि स्थानीयकरणलाई पुर्णता दिइनेछ ।आवश्यकता अनुसार विज्ञको सल्लाह/सहयोग लिई दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गर्दै लगिनेछ ।
  • राजश्व सुधार योजना कार्यान्वयनमा ल्याइनेछ । ताल तलैया तथा नदीजन्य स्रोतको उपयोगलाई बढावा दिदै दिगो स्रोतको प्रवर्द्धनमा विशेष जोड दिइनेछ । साथै स्रोत उपयोग गरेको स्थानका वडामा स्रोत प्रवर्द्धन हुने खालका योजनामा स्रोत परिचालन/उत्खननबाट भएको खुद आम्दानीको १०% खर्च गर्ने गरी वडामा बजेट उपलब्ध गराइनेछ ।
  • जनशक्ति ब्यवस्थापन, जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास, कार्यालयको ब्यवस्थापकीय प्रबन्ध मिलाइ खरिद योजना अनुरूप योजना तथा कार्यक्रम अगाडि बढाइ लक्ष्य अनुसारको पुँजीगत खर्च हुने गरी व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ ।
  • सामाजिक परीक्षण गराई प्राप्त प्रतिवेदनको आधारमा योजना निर्माण तथा कार्यालयबाट प्रदान गरिने सेवालाई समावेशी बनाउँदै लगिनेछ ।
  • टोल विकास संस्थाहरूलाई तालिमको व्यवस्था उपभोक्ता समितिबाट गरिने कामको जिम्मा र योजना तर्जुमा प्रक्रिया तथा सामाजिक सुधारको काममा अरू बढी जिम्मेवार बनाइनेछ ।
  • नगर सभाले स्वीकृत गरेका उपभोक्ता समितिवाट संचालन हुने योजनाहरुमा मात्र संचालन गरिनेछ र नाफामूल्क संस्थालाई भाडामा उपलब्ध गराइने छैन । 
  • कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तयार गरी सेवा प्रवाहमा एकरूपता कायम गरिनेछ ।
  • सेवा प्रवाहलाई सहज र घरदैलोमा पुर्‍याउने प्रयोजनका लागि दुर्गम वस्ती/क्षेत्र/वडामा अनुकुलता हेरी बहुसेवा घुम्ती शिविरलाई निरन्तरता दिइनेछ ।
  • सेवालाई चुस्तदुरूस्त तथा प्रभावकारी बनाउन, वित्तीय अनुशासन कायम गर्दै बार्षिक खर्च योजना (Cash planning) बमोजिम कार्य सम्पादनलाई व्यवस्थित गर्न काम सम्पन्न भएको मितिले १५ दिनभित्र भुक्तानी प्रक्रिया अगाडि बढाइने प्रबन्ध मिलाइनेछ ।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानिकरण अनुदान सिफारिस दिदा स्थानीय सरकारको कार्यसम्पादन मुल्याकंनका १७ वटा सुचकहरूले औल्याएका शिक्षा, स्वास्थ्य, समयावधि भित्र गर्नुपर्ने सभा, समिक्षा लगायतका कार्यहरू गरी कार्य समपादनमा आधारित अनुदान बढाउन हर प्रयत्न गरिनेछ । साथै स्थानीय सरकार स्वमूल्याकंन प्रणालीका निर्दिष्ट पुरा हुन नसकेका बुँदालाई आगामी वर्ष पुरा गरी उच्चतम अंक हासिल गर्न कार्यालयका सबै फाँट, उपशाखा, शाखालाई प्रेरित गरिनेछ ।
  • न्यायिक समितिको प्रभावकारिता बढाउँदै व्यवस्थित कार्यसम्पादन गर्नका लागि न्यायिक समितिको पूर्नगठन व्यवस्थापकीय प्रबन्ध, अनुगमन भ्रमण तथा मेलमिलापकर्ताका लागि पुर्नःतजगीतालिम र मेलमिलाप केन्द्रहरूको संस्थागत आकार प्रदान गरिने छ र पालिकास्तरको न्यायिक सम्पादन कार्यलाई कुशलता पुर्वक सम्पादन गर्ने प्रणालीको स्थापना गरिने छ ।
  • नगरको विकासमा उच्च योगदान पुयाउने कर्मचारी, पत्रकार, उपभोक्ता समिति, कृषक तथा संघ/संस्थालाई सम्मान गरिनेछ । साथै नेपाल सरकारको सेवामा लामो समय कार्य गर्दै आइरहेका आगामी आ.व.मा सेवा अवकास हुने स्थायी कर्मचारीहरूलाई नगर दिर्घ सेवा पदकबाट सम्मान गरिनेछ ।

प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक, भौतिक क्षेत्रमा थप गतिशील हुनेछ, ‘खुसी नगरवासी, समृद्ध बुद्धभूमि’ को आकाङक्षा पुरा गर्न योगदान पुग्नेछ ।

यी नीति तथा कार्यक्रमको कार्यान्वयनमा नगर कार्यपालिकालाई सबैबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा नगरको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, आम सञ्चार जगत लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नगरको विकासमा सहयोग पुर्‍याउने नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदारी संघसंस्थाहरू प्रति आभार व्यक्त गर्दछु ।

धन्यवाद !

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ८ : ०२ बजे