८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना संक्रमण बढ्दै, फैलिने संकेत हो ?



काठमाडौं ।
पछिल्ला केही दिनयता दैनिक थपिने कोभिड–१९ का संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्लो साता दैनिक थपिने संक्रमितको संख्या १५ भन्दा बढी छ ।

यही असार २ देखि ८ गतेसम्म एक सातामा १६५ संक्रमित थपिएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १४२ छ ।

स्थानीय संक्रमित बढ्दै
कोभिड–१९ का तीन लहरमा नेपाल–भारत आवतजावत गर्ने नाकामा संक्रमण धेरै देखिएको थियो । विशेषगरी नेपालसँग सीमा जोडिएका भारतका सहरहरूबाट नेपाल भित्रिने नागरिकमा संक्रमण देखिएको थियो । तर, पछिल्लो समय संक्रमित हुनेमा स्थानीय बढी छन् ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २० स्वाब नमुनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू स्थानीय हुन् । उक्त अस्पतालको आईसीयूमा एक दीर्घरोगी संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकमा वाग्मती र सुदूरपश्चिमबाहेक अरू प्रदेशका प्रयोगशालाबाट कोभिड–१९ पुष्टि भएको छैन ।

बुधबार थपिएका ३१ मध्ये २४ संक्रमित वाग्मती प्रदेशका छन् । तीमध्ये पनि २० संक्रमित काठमाडौं उपत्यकाका हुन् । बुधबारको तथ्यांकानुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ७८ छ ।

संक्रमण फेरि फैलिएला ?
कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाले फेरि अर्को लहर निम्तिने त्रास पैदा भएको छ । तर, अहिले देखिएको संक्रमणकै आधारमा अर्को लहर भित्रिने सम्भावना कम रहेको विज्ञहरू बताउँछन् ।

“जोखिम कायमै छ । तर, पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप ठूलो जनसंख्याले पाइसकेको हुँदा फेरि संक्रमण पहिलेको जस्तै उच्च हुने सम्भावना कम देखिन्छ । भाइरसले ओमिक्रोनजस्तै संक्रामक रूप लिए संक्रमितको संख्या बढ्न सक्ने अवस्था भने रहन्छ । तर, तत्काल अर्को लहर आउने सम्भावना निकै न्यून छ,” वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।

खोप नलगाएका, दीर्घरोगी एवं रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूमा संक्रमण हुने जोखिम भने उस्तै रहेको विज्ञहरू बताउँछन् ।

“११ वर्षमुनिका बालबालिकालाई भर्खरै खोप दिन थालिएको छ । यो हिसाबले उनीहरू संक्रमित हुने जोखिम कायमै छ । तर, अहिलेकै संख्याको आधारमा फेरि संक्रमण फैलिएला भन्ने अवस्था छैन,” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ता भन्छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्ति संक्रमित भइहाले पनि अस्पताल भर्ना हुने र सिकिस्त हुने सम्भावना न्यून हुने भएकाले संक्रमणले महामारीको रूप लिने सम्भावना कम रहेको विज्ञहरूको भनाइ छ । यद्यपि, संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न मन्त्रालयको आग्रह छ ।

नेपालमा हालसम्म १२ वर्षमाथिका ८६।५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा र ९७ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई भने आजदेखि खोप दिन थालिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ८ : १२ बजे