१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कस्तो ल्याए कपिलवस्तुका स्थानीय तहले नीति तथा कार्यक्रमसहितको बजेट ?



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका अधिकांश स्थानीय तहले शुक्रबार आगामी आव ०७९/०८० को बजेट सार्वजनिक गरेका छन् ।

१० स्थानीय तह रहेको जिल्लामा कपिलवस्तु नगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम पास गरेको छ । नगरसभामा नगर प्रमुख सुदीप पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।

नगर प्रमुख पौडेलका अनुसार यहीँ असार १५ गते बजेट ल्याउने तयारी छ ।

यता कृष्णनगर नगरपालिकाले आगामी आव ०७९/०८० को लागि रु.७६ करोड ३२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख आरतीदेवी चौधरीले ८ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । नगर प्रमुख रजत प्रताप शाहले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम भने पारित भएको नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

बजेट आकारका हिसाबले जिल्लाकै सबैभन्दा बढी बाणगंगा नगरपालिकाले आगामी आवको लागि रु.१ अरब ४९ करोड १७ बराबरको बजेट प्रस्तुत गरेको छ । ११ औं नगरसभामा नगर उपप्रमुख रीता कुमारी थारुले बार्षिक बजेटसहितको कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट माथि दफाबार छलफल पश्चात असार १५ गते पारित गर्ने गरि शुक्रबारको सभा सकिएको छ ।

बाणगंगाले यसभन्दा अगाडी बुधबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको थियो । शुक्रबार दोस्रो चरणको नगरसभा बसेको हो ।

महाराजगन्ज नगरपालिकाले रु.१ अर्व ११ करोड ८६ लाख बराबरको बजेट पेश गरेको छ । नगर उपप्रमुख रीताकुमारी कुर्मीले चालु तर्फ रु.६६ करोड र पुजीगत तर्फ रु ४५ करोड बराबरको बजेट प्रस्तुत गरेकी छिन् ।

नगर प्रमुख अब्दुल कलमद्धारा नगरसभामा प्रस्तुत बार्षिक नीति तथा कार्यक्रम भने सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले जानकारी दिए ।

शिवराज नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहितको बजेट नगरसभामा पेश गरेको छ । नगर प्रमुख अजय थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार नै पास भएको छ भने उपप्रमुख शिवकुमारी थारुले आव ०७९/०८० को रु.१ अर्व १९ करोड बराबरको बजेट सभामा पेश गरेकी छिन् ।

यता बुद्धभूमि नगरपालिकाले भने विहीबार नै बजेट पेश गरेको छ । ११ औं नगरसभामा उपप्रमुख मीरा थारुले आगामी आवको रु.१ अरव १९ करोड ९५ लाख बराबरको बजेट प्रस्तुत गरेकी छिन् ।

चार गाउँपालिका रहेको जिल्लामा शुद्धोधन गाउँपालिकाले आगामी आव रु.५३ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले गाउँसभामा प्रस्तुत गरेको बजेट माथि शुक्रबार देखि छलफल प्रारम्भ भएको छ ।

यस्तै गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको जनाइएको छ ।

विजयनगर गाउँपालिकाले रु.६४ करोड ५६ लाख बराबरको बजेट ल्याएको छ । ११ औं गाउँसभामा विजयनगरले उक्त बजेट पेश गरेको हो ।

मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र ल्याएका छन् । आवश्यक तयारी नपुगेको भन्दै दुबै गाउँपालिकाले शुक्रबार बजेट ल्याउन नसकेका हुन् ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ६ : ४१ बजे