१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वामदेव गौतम भन्छन्ः नेकपा विभाजन रोक्न नलागेकोमा पछुतो मानेको छु



काठमाडौं ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू त्यो बेला कुनै समूहमा नलागेको भए साबिकको नेकपा विभाजन नहुने बताएका छन् । साथै आफूले चाहेको भए नेकपा विभाजन रोक्न सकिने अवस्था रहेको कुरा आफूले अहिले मात्र बुझेर गल्ती गरेकोमा पछुतो लागेको सुनाएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अर्कोले त्यसको बदलामा संसद् नै विघटन गर्ने काम गर्न हुँदैनथ्यो। यस्तो विषयमा कोही सहमत नहुनुपर्ने हो। तर नेताहरू भएर नेताहरू नै लाग्नुभयो ।’

नेता गौतमले विभाजित भइसकेको अवस्थामा ओली र प्रचण्ड दुवैले पटक-पटक बोलाउँदासमेत आफू नगएको दाबी गरे। आफैँले निर्माण गरेको पार्टी जोगाउनकै लागि अहिले फेरि राष्ट्रिय अभियान निर्माणमा लागेको समेत उनले प्रष्ट पारे।

उनले भने, ‘धेरैले वामदेवकै कारणले पार्टी विभाजन भयो भन्न आरोप लगाउनुभयो। मैले आजको प्रस्तावले लेखेको छु। मैले पनि गल्ती गरेको छु। म कुनै समूहमा नलागी पार्टी एकताको पक्षमा लागेको भए नेकपा विभाजन हुँदैनथ्यो जस्तो मलाई आज पनि लाग्छ।’

उनले नेकपा विभाजनमा तत्कालीन सचिवालयका ९ जना नेता बराबर जिम्मेवार रहेको पनि दाबी गरे।

‘म जुन समूहमा संलग्न भएको थिएँ उहाँहरूले आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्नेगरी जान्छु भनेपछि म यो समूहमा छैन भनेर उहाँहरूको बैठकमा जान छाडेँ। मैले दुईपटक अविश्वासको प्रस्ताव राख्ने प्रयास असफल बनाएँ। तर, तेस्रोपटक मलाई थाहा दिइएन’ उनको भनाइ छ।

उनी नेकपाभित्रको चर्को विवादको बेलामा ओली समूह छाडेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा लागेका थिए।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ११ : ५५ बजे