६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कपिलवस्तुका सहायक सिडिओ पौडेलको नेतृत्वमा बजार अनुगमन, बंगाली डाक्टर परे फन्दामा



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा बिना इजाजत अवैध रुपमा सञ्चालित दुई क्लिनिकका बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकाका दुई बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन गरिएको छ ।

महाराजगन्ज नगरपालिका वडा नम्बर १० बिजगौरीको पवित्र विश्वास मेडिकल स्टोर र महाराजगन्ज नगरपालिका वडा नम्बर १ स्थित नानीमाया आचार्य मेडिकल स्टोरलाई पसल बन्द गरी हाजिर हुन निर्देशन गरिएको हो ।

मूल्य वृद्धि र विभिन्न अनियमिततालाई रोक्न प्रशासन कार्यालयको अगुवाइमा गरिएको संयुक्त अनुमगन पछि सो निर्देशन दिइएको हो ।

दुबैले निर्वाध रुपमा क्लिनिक सञ्चालन गर्दै आएका थिए । सहायक प्रजिअ अनिल पौडेलको नेतृत्वमा गरिएको अनुगमन पछि दुबै क्लिनिक बिना इजाजत अबैधरुपमा सञ्चालन भएको भेटिएको थियो । ‘दुबै क्लिनिक बिना इजाजत सञ्चालन भएको भेटियो, जनताको स्वास्थ्यसँग खेलाबाड गर्ने दुबैलाई प्रशासनमा हाजिर हुन बोलाएका छौं’ पौडेलले भने ।

टोलीले महाराजगन्ज नगरपालिका वडा नम्बर १० बिजगौरी, वडा नम्बर १ महाराजगन्ज र बुद्धभूमि नगरपालिका ४ हनुमान चोकमा रहेको मेडिकल, नास्ता पसल किराना पसल, मदिरा पसल, फ्रेस हाउसको अनुगमन र निरीक्षण गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरु मापदण्ड अनुसार सञ्चालन नभएको भेटिएको सहायका प्रजिअ पौडेलले बताए ।

महाराजगन्ज नगरपालिका वडा नम्बर १ स्थित सञ्चालन गरिएको जमिल धोबीको मासु पसल र रहयान हुसेन पानीजा फ्रेस हाउमा मापदण्ड विपरित बेचिएका ९० किलो बढी कुखुराको मासु जफत गरी नष्ट गरिएको थियो ।

साना पसल, किराना पसल अनुगमनका क्रममा मूल्य सूची नराखी सामानहरू बिक्री वितरण गरेको, विभिन्न सामानहरू प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मूल्यमा एकरुपता नरहेको सरसफाई राम्रोसंग नभएको पाइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राकेश चौधरीले बताए ।

पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमजोरीहरूलाई फेरि पुनः नदोहोर्‍याउने गरी छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरू छुटै राख्न निर्देशन दिएको सहायक प्रजिअ पौडेलले बताए ।

यस्तै टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित कपिलवस्तु डिस्टिल वाटर उद्योगमा समेत अनुगमन गरी मापदण्ड अनुसार सफा र स्वच्छ पानी आपूर्ति गर्न निर्देशन दिएको थियो ।

टोलीले कुल १७ पसल र १ पानी उद्योग अनुमगन गरको प्रशासन कार्यालकया नासु जनकराज जोशीले बताए । अनुगमन टोलीमा प्रहरी निरीक्षक सुमनराज राउत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवशंकर मिश्र, सञ्चारकर्मी, घरेलु तथा साना उद्योगका प्रतिनिधि लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ७ : १६ बजे