२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

गुणस्तरीय शिक्षामा तीनै तहका सरकारको सहकार्य आवश्यक : सभापति पन्थी



बुटवल ।
गुणस्तरीय शिक्षाका लागि तिनै तहका सरकारविचमा सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

उनीहरुले शिक्षाको सुधारका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका विचमा सहकार्य जरुरी भएको कुरा औल्याइएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) र शिक्षा पत्रकार समुहको समन्वयमा बुटवलमा आयोजित गुणस्तरीय सिकाईका लागि सार्वजनिक शिक्षामा रुपान्तरण प्रदेश स्तरिय छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापती विष्णु प्रसाद पन्थीले शिक्षा सबैको लागि अनिवार्य संविधान तह व्यवस्था गरिएको भएपनि सोही अनुसारको पुर्वाधार, जनशक्ति विकास लगायतका कार्यहरु पुरा नहुँदा अधुरो रहेको बताउनु भएको छ ।

उहाँले शिक्षाको आमुल परिर्वतनको लागि सबैका लागि शिक्षाको अभियानलाई सार्थक बनाउनको लागि संघीय संरचनाका तिन वटा तहका विचमा सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले माध्यमिक तह सम्मको शिक्षा व्यवस्थापनको जिम्मा पछिल्लो समयमा स्थानीय तहको जिम्मेबारीमा आएको जानकारी दिदै स्थानीय तह अझ बढि जिम्मेबारी हुनुपर्ने र प्रदेश सरकार संघीय निकायले समेत आ-आफ्नो जिम्मेवारी पूर्णरुपमा पुरा गरेमा शिक्षाको विकासमा फड्को मार्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले शिक्षा सुधारका लागि एकल प्रयासबाट संभव छैन, यसको लागि साझा पहल, दायित्व निर्वाह सबैले गर्न आवश्यक रहेको छ, भन्नुभयो ।

कार्यक्रममा शिक्षा विद् प्रा.डा. विद्यानाथ कोईरालाले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने शिक्षा सुधारका विभिन्न पाटाहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्दै आफना अनुभव राख्नुभएको थियो । उहाँले शिक्षामा सुधारका लागि ठुला ठुला परिवर्तन भन्दा पनि ससानो प्राविधिक दक्षता सहितको परिवर्तन आवश्यक रहेको भन्दै यसमा ध्यान दिनको लागि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विद्यालय बाहिरका बालवालिकाहरुलाई विद्यालय शिक्षामा ल्याउनको लागि नगरपालिकामै ठुलो कसरत गर्नुपरेको बताउदै विद्यार्थीको लागि आधारभुत आवश्यकता परिपुर्ती गरिदिँदा समेत उनीहरु विद्यालयमा आउन नसक्नु खोजको विषय भएको भन्दै नगरपालिका सबै तहका तरिका अपनाएर विद्यालयमामा विद्यार्थी ल्याउनको कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख अजय थापा, कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल, लुम्बिनी सास्कृतिक नगरपालिका उप प्रमुख कल्पना हरिजन, बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरी लगायतका स्थानीय तहका पदाधिकारीहरुको सहभागीता थियो ।

कार्यक्रममा शिक्षा लागि राष्ट्रिय अभियानका कार्यक्रम व्यवस्थापक राम गैरेले विद्यामान शैक्षिक अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाहाडीले शिक्षा अभियानको विषमा प्रकाश पार्नुभएको थियो । अभियानका केन्द्रीय सदस्य संहिता मल्ल ठकुरी, लुम्बिनी प्रदेश प्रमुख हरि अधिकारीले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९ मंगलबार ००:००  ६ : १५ बजे