२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अनधिकृत संरचना भत्काउने अभियानलाई महानगरले निरन्तरता दिने



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

कोटेश्वरमा हिजो पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर आजदेखि हटाउने जानकारी गराएको छ । गएको सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाण्डौ मल, आर बी कम्प्लेक्सलगायतमा बनेका अनधिकृत संरचना हटाएको थियो । यसअघि नै ३५ दिने सूचना निकालेको महानगरले अटेरी गरेपछि भत्काउने अभियान थालेको हो ।
महानगरपालिकाले ३५ दिने सूचना निकालिसकेको र जुनसुकै बेला अनधिकृत संरचनाहरू हटाउन सक्ने भन्दै नियम पालना गर्न सबैलाई आग्रह पनि गरेको छ । महानगरले डोजर लगाएर संरचना भत्काएपछि भाडामा पसल राखेका व्यापारीहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् ।

मेयर शाहले भने महानगरले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु नगरेको र क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनुपर्ने बताउनुभएको छ ।

आफूहरुले यसअघि बोलाएको छलफल र सरसल्लाहमा कोही पनि सम्पर्कमा नआएको पनि उहाँको भनाइ छ । अबका दिनमा अनधिकृत संरचनाहरु नबनाउन र बनाएका त्यस्ता संरचनाहरु आफैँले भत्काउन पनि उहाँको अनुरोध छ ।

यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने काम नगर्न पनि मेयर शाहले आग्रह गर्नुभएको छ । यस्तै काठमाण्डौ महानगरपालिकाले जिल्ला अदालत काठमाण्डौलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र समेत लेखेको छ ।

महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : ९ भदौ २०७९ बिहिबार ००:००  ८ : २३ बजे