८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

लुम्बिनीका विद्युतीय बस दसैँअघि सञ्चालनमा आउने



भैरहवा।

वर्षौ देखि प्रयोग विहीन बनेको लुम्बिनीको विद्युतीय बस दसैँ अघि नै सञ्चालन हुने भएको छ । लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदल प्रतिवेदन कार्यविधि हस्तान्तरण गर्दै बस सञ्चालन गर्ने जनाएको छ ।

कार्यदलका संयोजक एवं लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सहितको टोलीले कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालन सम्बन्धी प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएको हो ।

करिब तीन वर्षदेखि लुम्बिनी विकास कोषलाई एसियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजु शाक्य रहेको तीन सदस्यीय टोली गठन गरिएको थियो । लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समय सीमा भित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको संयोजक एवं कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्य योजना, आर्थिक प्रक्षेपण, अत्यावश्यक सिफारिसहरू र कार्यविधि मस्यौदा सहितको दुई वटा दस्ताबेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा इ–भ्यान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यविधि तयार भएसँगै लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालन गर्न बाटो खुल्ने छ । बस तथा भ्यान कोषको सम्पत्ति भइसकेकोले कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठित इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाएको हो । प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरूको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष एवं संयोजक भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडा भन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरूको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्ने समेत प्रतिवेदनमा भनिएको छ । प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्रान्ड नाम “धुम्म यात्रा” राखिएको छ ।

धुम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र विमानस्थल जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाई गठनसँगै कर्मचारी तथा चालकहरू करार गर्ने प्रस्ताव गरेको छ भने तीन चरणका कार्य योजना अघि सारेको छ । जसमा अफिसियल परीक्षण पाँच दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन दुई महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी तीन वटा चरण प्रस्ताव गरेको छ ।

कोषलाई प्राप्त पाँच वटा बस र १४ भ्यानहरू १२ करोड बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेसन निर्माण गर्न झन्डै १४ करोड रुपियाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ । प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरूको रुट व्यवस्थापन, सञ्चालन कार्य योजना, अनुमानित आय व्यय प्रक्षेपण सहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दाबीहरूको प्रमाण राखिएको संयोजक भट्टराईले बताउनुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरूलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरू एसियाली क्लीन इनर्जी फण्डको सहयोगमा वातावरण मैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो । कार्यदलले नेपाल बिद्युत् प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा प्राधिकरणका वैकल्पिक ऊर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर्स कम्पनी सिमेक्स प्रालि, सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनीसँग बैठक गरी घटस्थापनाअघि नै प्राविधिक पक्ष चुस्त बनाउन प्रतिबद्धता लिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९ सोमबार ००:००  ३ : २८ बजे