१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

आज हरितालिका तीज, पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा भीड



काठमाडौं।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।

हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव(पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ६ : १० बजे