२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कर्मचारी परिषदद्धारा विद्यालय बन्दको कार्यक्रम स्थगित



काठमाडौँ ।

दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।

आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

विद्यालयका लेखापाल रकार्यालय सहयोगी सेवासुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए । त्यसको विरोध भएको थियो । विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रुपमा खुल्ने र बन्द थिए ।

शिक्षक महासंघले नै परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण अधिकांश ठाउँमा विद्यालय बन्द रहेका थिए । शिक्षा मन्त्रालयले बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेपछि घोषित बन्दको कार्यक्रम फिर्ता गरिएको हो । शिक्षा मन्त्रालयका उपसचिव बिदुर गिरीले विज्ञप्ति जारी गरेर बन्दको कार्यक्रम फिर्ता गरे मात्रै वार्ता गरिने अडान लिएका थिए ।

शिक्षा महासंघको पहलमा मन्त्रालयसँग वार्ताको प्रयास भइरहेको परिषद्ले जनाएको छ । गत साता भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । सरकारले न्यूनतम पारिश्रमिक पाउनु पर्ने, कार्यरत लेखापाल र कर्मचारीलाई दरबन्दी कायम गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने लगायतका माग परिषद्ले अघि सारेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ७ : ५५ बजे