१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चुनावमा नेपाल प्रहरीलाई झन्डै ८ अर्ब रुपैयाँ बजेट



काठमाण्डौ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय रुपैयाँ बजेट प्राप्त भएको छ ।

नेपाल प्रहरीका लागि एक अर्ब २३ करोड ५० लाख ९९ हजार दुई सय तथा म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो । यो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दीपक थापाले जानकारी दिनुभयो ।

आउँदो चुनावका लागि ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । यस पटक पालिका चुनावमा भन्दा २५ हजार बढी नेपाल प्रहरी तथा म्यादी प्रहरी थप गरिने भएको हो । जसमा १५ हजार म्यादी प्रहरी थपिने छन् ।

चुनावको समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । यो भत्ता सिपाहीका हकमा प्रतिव्यक्ति प्रतिदिन एक हजार दुई सय रुपैयाँ हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले चुनावको मुख्य चार दिन प्रतिदिन तीन सय रुपैयाँका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।

नेपाल प्रहरीले चुनाव प्रयोजनार्थ एक सय ८० वटा गाडी किन्ने भएको छ । प्रहरीले चुनावका लागि कुल एक हजार चार सय ९४ वटा गाडी माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा ५० लाख रुपैयाँसम्मका गाडी खरिद गर्न पाउनेछ । त्यही आधारमा एक सय ८० वटा गाडी खरिद गर्न लागिएको डीआईजी थापाले जानकारी दिनुभयो ।

चुनावमा कुल दुई हजार सात सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । चुनावको १२ दिनका लागि एक हजार ५० वटा गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन १० हजार रुपैयाँ छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । सबै गाडी चुनाव सुरक्षा योजनाअनुसार परिचालन हुने भएकाले थप–घट हुनसक्ने थापाले जानकारी दिनुभयो । यसपालि प्रहरीले १० हजार लट्ठी खरिद गर्दैछ । प्रतिलट्ठी दुई सय रुपैयाँका दरले खरिद गर्ने जनाइएको छ ।

प्रहरीले सात सय बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ । अहिले चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ ।

म्यादी प्रहरीको तलब झन्डै ५० हजार

सरकारले आउँदो मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि पालिका चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

उनीहरूका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । ४० दिनका लागि म्यादी प्रहरीले तलब, रासन, पोसाकलगायत सबै भत्तासहित जोडेर झन्डै ५० हजार रुपैयाँ हाराहारी तलब प्राप्त गर्नेछन् । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० रुपैयाँ तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार रुपैयाँ नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै ३४ हजार सात सय ६० रुपैयाँ प्राप्त गर्नेछन् । त्यसका साथै रासनबापत सात हजार दुई सय रुपैयाँ पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोसाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले ९ज्याकेट खरिद० मा एक हजार रुपैयाँ थप पाउने छन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

यस्तै आवतजावत भाडा खर्च एक हजार रुपैयाँ दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन तीन सयका दरले पाउने छन् । यो खर्च भने सबै प्रहरीले पाउने छन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आउँदो असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

मतदानस्थल र मतदाता थपिएकाले सुरक्षाकर्मी थप

मतदानस्थल, मतदान केन्द्र र मतदातासमेत थपिने भएकाले यो पटक म्यादी प्रहरीसहित झन्डै २५ हजार प्रहरी कर्मचारी थप परिचालन गर्न लागिएको छ । नेपाल प्रहरीतर्फ १० हजार र म्यादीतर्फ १५ हजार बढाउन लागिएको हो ।

समानुपातिक चुनावसमेत हुने भएको र कारागारका कैदीबन्दीले समेत मताधिकार प्रयोग गर्न पाउने भएपछि म्यादी प्रहरीसँगै अन्य प्रहरी कर्मचारीसमेत थप गरिएको हो । यसपालि झन्डै पाँच लाख मतदाता थपिने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा चुनावमा पनि प्रत्यक्ष र समानुपातिक चुनाव हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने हुन्छ । त्यसैले सुरक्षाकर्मी बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक राईले जानकारी दिनुभयो । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै यस पटक पनि प्राथमिकता दिने पनि उहाँले जानकारी दिनुभयो ।

चुनावको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटेको छ । यसअघि गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल, प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमान्ड पोस्ट गठन गरी कार्य अघि बढाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९ मंगलबार ००:००  ६ : ४९ बजे