२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

कृष्णनगरमा मनाईयो मानव बेचबिखनविरुद्धको १६औँ अन्तर्राष्ट्रिय दिवस



कपिलवस्तु ।

मानव बेचबिखनविरुद्धको १६औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा मानव बेचबिखन कम गर्न शिक्षा र रोजगारी हुनुपर्नेमा जोड दिइएको छ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित चेतनामूलक र्‍याली कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले मानव बेचबिखनमा नागरिकहरू सचेत भए पनि विभिन्न प्रलोभनले बेचबिखन तथा ओसारपसार भइरहेको बताए।

सामाजिक सञ्जाल तथा मोबाइलको दुरुपयोग गर्दै महिला दिदीबहिनीहरूलाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक लैजाने र त्यहाँ शोषण गर्ने गरेको बताए। ‘विभिन्न सङ्घ संस्थाले न्यूनीकरणको लागि प्रयास गरिरहेका छन्,खुल्ला सीमा लगायतको कारणले पनि बेचबिखन बढ्दो छ, केसीले भन्नुभयो, ‘शिक्षित र रोजगारी सिर्जना भएमा बेचबिखन धेरै कम हुनेछ,।’

उनले मानव बेचबिखनसँगै लागुऔषध प्रयोग पनि बढेको बताए। बालबालिकाहरूलाई प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेकोले यसको नियन्त्रणको लागि आफ्ना छोराछोरीको विशेष ध्यान दिनुपर्ने बताए।
शिवराज नगरपालिकाका प्रमुख अजय थापाले नेपालमा मानव बेचबिखनको घटनाहरू धेरै रहेकोले यसबाट सबै सचेत हुनुपर्ने बताए।

वडा प्रहरी कार्यालय चन्द्रौटामा प्रमुख कपिलजंग साहीले मानव बेचबिखन तथा ओसारपसार अपराधको रूपमा रहेको भन्दा कानुनी कारबाहीको बारेमा सचेत गराए। व्यापार संघ कपिलवस्तु अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेय,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा लगायतले मानव बेचबिखन विरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

मानव बेचबिखन विरुद्ध काम गर्दै आएको शान्ति पुनर्स्थापन गृहलगायत संस्थाको आयोजनामा भएको चेतनामूलक र्‍याली चन्द्रौटा प्रहरी चोकदेखि खसी बजार हुँदै पुनः दुर्गा मन्दिर परिसरमा गई कोणसभामा परिणत भएको थियो।

प्रकाशित मिति : २० भाद्र २०७९ सोमबार ००:००  ५ : ४० बजे