२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मंगल गुप्ताले भनेः ‘अभिषेक जातीयताका भाषण गर्दै पहाडीया लखेट्छु भन्ने नेता हुन्’



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताले कांग्रेस नेता अभिषेक प्रताप शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

शिवराजमा भएको भूमि अधिकार तथा श्रमिक संगठनको एक कार्यक्रममा प्रतिनिधिसभा-३ का प्रस्तावित उम्मेद्वार समेत रहेका गुप्ताले अभिषेक प्रताप शाहले विगतमा गरेका भाषणको स्मरण गर्दै जातीय एकतामा जोड दिएका हुन् ।

विगत सम्झदै नेता गुप्ताले भने-‘अभिषेक प्रताप शाहले विगतमा पहाडीया र मधेसीको नाममा जनता फड्काउँदै हिडेका थिए । यस्तो विवादित भाषणले सामुदायिक एकता भड्किएको थियो ।’

जातीयताका कुरा गरेर जनतालाई नेता शाहले आक्रोसित बनाएको उनले बताए । शाहले आफूले मधेशको शक्ति पाएमा पहाडीयालाई २५ किलो मिटर टाढा पठाउँछु भन्दै भाषण गर्दै हिडेको पनि गुप्ताले आरोप लगाए ।

कांग्रेस नेता शाह ०७४ अगाडी मधेस केन्द्रीत दलमा सक्रिय थिए । हाल कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका शाह आसन्न मंसीर ४ को निर्वाचनमा पनि यहीँ क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका गुप्ताले आसन्न चुनावमा टिकट पाएर हार नै भए पनि त्यसलाई स्विकार गर्दै समाजवादको बाटोको निरन्तर हिड्ने बताएका छन् ।

कांग्रेस हुँदै मधेस केन्द्रीत दलमा सक्रिय गुप्ता हालै एमाले प्रवेश गरेका छन् ।

०४६ सालको बहुदल पश्चात पटक पटक चुनाव लड्दै आएपनि गुप्ताले अझै चुनाव जित्न सकेका छैनन् । ०७४ को निर्वाचनमा उनी दोस्रो स्थानमा आएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ९ : ५७ बजे