३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

शक्तिशाली पन्थीलाई रोक्न गठबन्धनले सक्ला ? काँग्रेसमा अन्तरघातको डर !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर एक हरेक हिसाबले अहिले चर्चामा छ । प्रतिनिधि सभा सदस्य पदमा पनि तीन ‘हेविवेट’ नेताको जुहारीले चर्चामा छ भने सोही क्षेत्रमा हुने प्रदेश सभाको निर्वाचन पनि रोचक नै बन्ने देखिएको छ ।

प्रदेश सभामा काँग्रेशबाट डोलकराम, गणेश बहादुर क्षेत्री, शक्तिसिंह ठकुरीको नाम सफिरिस भएको छ भने माओवादीबाट सरोज खनाल, विष्णु बेलबासे र कृष्ण कुँवरको नाम सिफारिसमा छ । यता प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट प्रदेश सभा सदस्य विष्णुपन्थी, गिरीधारीलाल न्यौपाने र डम्बर शर्मा सिफारिसमा परेका छन् ।

शक्तिशाली पन्थी
यसरी चुनावी समिकरण हेर्दा भने क्षेत्र नम्बर (१) क मा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट तिन जनाको नाम सिफारिस भए पनि टिकट पाउने भनेको वष्णु पन्थीले नै रहेको विश्वस्त श्रोतले बताउँछ । उसो त विष्णु पन्थीे प्रतिनिधि सभा सदस्य पदमा सबैभन्दा बलिया उम्मेदवार भनेर चर्चा भए पनि एमालेभित्रको गुटका कारण उनलाई प्रतिनिधि सभामा लड्नबाट बञ्चित गराई प्रदेशमै खुम्च्याइएको छ ।

अब पन्थी लड्ने भनेको प्रदेशमै हो । उनलाई अन्त जाने ठाउँ छैन । गिरीधारीलाल न्यौपाने र डम्बर शर्मा औपचारिकताको लागि सिफारिसमा परेका हुन् । यसो भएपछि पन्थी भने सजिलै चुनाव जित्न सक्ने भन्दै ‘हाइसञ्चो’ काढेर बसेका छन् । टिकटको ग्यारेन्टीसंगै प्रदेशमा चुनाव जित्न आफूलाई कुनै समस्या नभएको उनले बिभिन्न ठाउँमा भन्दै आएका छन् । पन्थी त्यहाँको विकासमा काम गरेका चर्चित युवा नेताको रुपमा चिनिन्छन् ।

पन्थीलाई टक्कर दिने नेता को हुन् त ?
यसो हुँदा पन्थीलाई हराउन गठबन्धनबाट को मैदानमा आउँछ ? चौतर्फी जिज्ञासाको विषय बनेको छ । प्रतिनिधि सभा सदस्य तर्फका ३ वटा क्षेत्रमध्ये २ र ३ काँग्रेस र १ माओवादीले पाउने पक्का छ । १ नम्बर प्रतिनिधि सभा सदस्य माओवादीका पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले पाउँदा सोझै प्रदेशको टिकट भने गठबन्धनबाट काँग्रेसको भागमा पर्ने नश्चित छ ।

अब काँग्रेसबाट सिफारिस भएकामध्ये पन्थीलाई टक्कर दिने नेता को हुन् त ?

प्रदेश चुनावमा सामान्य नेताले पन्थीलाई हराउन गारो छ । त्यहाँका स्थानीयका अनुसार माओवादी र काँग्रेसबाट सिफारिस भएका कुनै पनि ब्यक्ति उनलाई टक्कर दिएर हराउने क्षमताका छैनन् । काँग्रेसबाट सिफारिस भएका वाणगंगा नगरपालिकाका पूर्व मेयर मंगल प्रसाद थारु, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, काँग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरीमध्ये टिकट पाउने सम्भावनामा मंगल प्रसाद थारु र डोलकराम घिमिरे छन् ।

यी दुई नेतामध्ये टिकटमा पाउने प्रबल सम्भावनामा घिमिरे छन् किनभने उनी देउवा गुटका हुन् । उनी त्यहाँका समाजसेवीका रुपमा चिनिन्छन् । तर काँग्रेसका अर्काथरीले मंगलप्रसाद थारुले टिकट पाएमा मात्र पन्थीलाई टक्कर दिन सकिने बताउँछन् ।

यता घिमिरेले भने अब आफू चुनावबाट पछि नहट्ने र टिकट पाए सजिलै पन्थीलाई हराउने बताइरहेका छन् ।

काँग्रेसमा घिमिरे र थारुमध्ये कसले टिकट पाउलान् ?
असल ब्यक्तित्वमा घिमिरे र थारु दुवैले जिल्लामा दागरहित नेताको छवि बनाएका छन् । तर पनि पन्थीलाई टक्कर दिन भने त्यहाँको थारु सेन्टीमेन्ट पनि जरुरी रहेको त्यहाँका जानकार बताउँछन् । थारु पूर्व मेयर पनि भएको र सो क्षेत्रको थारु सेन्टिमेन्ट पनि बटुल्न सक्ने नेता भएकाले एमालेका थारु मतदाता पनि मंगलले चोर्न सक्छन् भन्ने आंकलन गरिएको छ ।

सो क्षेत्रमा थारु समुदाय निर्णायक मतदाता हुन् । तर पन्थी यस्ता नेता हुन् जसले थारु सेन्टिमेन्ट पनि क्याच गर्न सक्ने ल्याकत राख्दछन् ।

अर्कोतर्फ स्थानीय चुनावमा वाणगंगा नगरपालिको मेयर, उपमेयर र अधिकांस वडामा एमालेले जित हासिल गरेकोले पनि पन्थीलाई सजिलो छ । तर पार्टीभित्रको एउटा सानो झुण्डको असहयोग हुन्छ कि भन्ने डरमा पन्थी रहेका बताइन्छ । किनभने पन्थी माधव नेपाल लाइनका नेता हुन् । केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर पार्टी फुटेपछि सुरुमा माधव समुहमा झुकाव राखेर अन्तिममा एमालेमा खुलेका थिए । त्यही कारण आज पन्थीलाई प्रदेशमा खुम्चनु परेको हो ।

के भन्छन् बुद्धिजिवी र जानकार ?
यदि गठबन्धनमा धोका नहुने हो भने पन्थीलाई हराउने नेताको रुपमा धेरैले मंगललाई नै हेर्ने गरेका छन् । जिल्लास्थित अग्रज काँग्रेस नेता र स्थानीय जानकार मंगलले पन्थीलाई टक्कर दिन सक्ने बताउँछन् । तर मंगलले मेयर हुँदा बाणगंगा नगरपालिकामा उल्लेखनीय काम नगरेको हुनाले उनीप्रति नकारात्मक छाप रहेको बताइन्छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनको जस्तो माहौल अहिले नभएकाले गठबन्धनबाट थारुले पन्थीलाई हराउन निकै सकस हुने त्यहाँका बुद्धिविजी बताउँछन् । पूर्व वडाअध्यक्ष गणेश बहादुर क्षेत्री र शक्तिसिंह ठकुरी युवामाझ लोकप्रिय भए पनि पन्थीको अगाडी भने फिक्का हुने बताइन्छ । तर उनीहरुले पनि टिकट पाए पन्थीलाई हराउने दावी गरेका छन् ।

शक्तिशाली कुँवर तर अभागी
एक जना नेताका अनुसार विष्णु पन्थीलाई टक्कर दिने नेता माओवादीका कृष्ण कुँवर हुन् । कुँवर वाणगंगामा समाजसेवी छवि बनाएका ‘म्यानपावर’ ब्यवसायी हुन् । उनीसंग प्रशस्त पैसा पनि छ भने धेरै एमालेका नेता । कार्यकर्ताहरु उनीसंग नजिक पनि छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धनबाट बलदेवलाई चुनाव जिताउन उनले विशेष भूमिका खेलेका थिए ।

कुँवर ती नेता हुन् जसले गत वैशाख ३० गते भएको स्थानीय चुनावमा काँग्रेस र एमालेभन्दा कमजोर भए पनि आफ्नो वडामा १ मत अन्तरले आफ्ना उम्मेदवारलाई जिताएर आफ्नो रवाफ देखाएका थिए । अर्कोतर्फ त्यहाँका बिभिन्न युवा क्लव, संघ संस्थालाई आर्थिकदेखि बिभिन्न सहयोग गरेर युवाहरुको मन पनि कुँवरले जितेका माओवादी नेताहरु बताउँछन् । प्रदेशमा टिकट पाएको भए साम, दाम, दण्डभेद अपनाएर भए पनि कुँवरले पन्थीलाई सजिले हराउन सक्थ, ती नेताहरु भन्छन् ।

उनी चुनावमा गेम खेल्न सक्ने चतुर नेताको रुपमा जिल्लामा चिनिन्छन् । तर गठबन्धनमा भाग लगाउँदा टिकट काँग्रेसको भागमा परिसकेको हुनाले कुँवर अब मैदान बाहिर रहने छन् । कुँवरले पनि आफूले टिकट पाएको भए सजिलै पन्थीलाई हराउने सक्ने दैनिक अनलाइनलाई बताए ।

पन्थीको कमजोरी
एमालेकै एकजना नेता भन्छन् ‘पन्थी सबैका साझा नेता हुनहुन्छ । चुनाव जित्नेमा शंका छैन । उहाँलाई काँग्रेस, माओवादीको पनि साथ छ । यति हुँदा हुँदै पनि उहाँमा एउटा आरोप पनि छ । जे काममा पनि हुन्छ हुन्छ भन्नुहुन्छ । भाषण धेरै गर्नुहुन्छ । हुन्छ भनिएका कतिपय ठाउँमा काम नभएर जनता असन्तुष्ट छन् । फेसबुकमा पनि धेरै लेखेर आफ्नो ओजमा प्रश्न आफै गरिरहनु भएको छ ।यो उहाँको कमजोरी हो । आगामी दिनमा सच्याउनु पर्दछ ।’

काँग्रेसमा अन्तरघातको डर
नेपाली काँग्रेसको देशभरको एउटा समस्या भनेको अन्तरघात हो । त्यसको सिकारमा पिलवस्तु पनि पर्ने गरेको छ । क्षेत्र नम्बर १ को बाणगंगा नगरपालिकामा काँग्रेसको पकड भए पनि गत स्थानीय तहको चुनावमा अन्तरघातकै कारण नराम्ररी पराजित भएको थियो । यसअघि मेयर जितेको पालिकामा काँग्रेस अहिले केही वडा अध्यक्षमा सिमित भएको छ । आफ्ना बलियो पकड हुँदा हुँदै पनि नगर प्रमुखको टिकटको कारण काँग्रेसले नगरपालिका गुमाएको हो ।

त्यहाका यसवादेखि पाका नेतासम्म २ खालको गुट छ । समग्र जिल्लामा रामचन्द्र, शेखर गुट बलियो भए पनि उत्तरतर्फ भने अहिले देउवा गुट हावी हुँदै गएको छ । यदि टिकटकै कारण क्षेत्र नम्बर १ मा अन्तरघात भयो भने गठबन्धनले काम गर्ने छैन पन्थीले भारी मतान्तरले चुनाव जित्ने काँग्रेसकै एकजना नेता बताउँछन् । जे होस् कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रदेश र प्रतिनिधि सभातर्फको दुवै चुनाव निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ६ : ४३ बजे