१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गजेहडाको जनसेवा र भलवाडको नवप्रभात सहकारीका चोर अझै भेटिएनन्, सञ्चालक समिति मौन !



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा भित्रका दुई सहकारी लुटिएको बर्षौ हुँदासमेत चोर पत्ता लाग्न नसक्दा अनेकन शंका उत्पन्न भएको छ ।

बाणगंगा वडा नं. ९ मा रहेको श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था र बाणगंगा ४ गजेहडामा रहेको जनसेवा बहुमुखी सहकारी संस्थामा केही बर्ष अगाडी रकम चोरी भएको थियो ।

भलवाडमा रहेको नवप्रभात सहकारीको रकम चोरी भएको तीन बर्ष वित्यो तर, वास्तविकता अझैसम्म बाहिर आउन सकेको छैन् ।

५ लाख ९४ हजार बराबरको रकम यो सहकारीबाट चोरी भएको हो । वि.सं. २०७६ साल भदौको २५ गते एक मध्यरातमा उक्त सहकारीमा रकम चोरी भएको हो ।

जिनुवा बजारको माझमै रहेको उक्त सहकारी चोरी भएपनि अर्को दिन मात्र घटनाबारे थाहा भएको थियो । सहकारीमा रहेको सटर तोडी भल्टमा रहेको रकम चोरी भएको सहकारीले जनाएको छ ।

सहकारीमा सुरक्षाका लागि सिसिटिभी जडान थियो । तर रकम चोरी गर्नुपूर्व उक्त सिसिटभीको मुख्य ‘हार्डडिक्स’ नियन्त्रणमा ल्याई चोर्ने काम भएको घटनाको प्रकृतिले देखाउँछ । पैसा र सिसिटिभीको मुख्य सामग्री बाहेक सहकारीका अन्य कुनै कागजात हराएका थिएनन् ।

सिसिटीभिको राम्रो प्रबन्ध हुँदा हुँदै सहकारी चोरी भएपछि तत्कालिन सहकारीका शेयर सदस्यहरुले विभिन्न शंका व्यक्त गरेका थिए । सिसिटिभीको महत्वपूर्ण सामग्री जफत गरी योजनाबद्ध ढंगले यस सहकारीमा चोरी भएको शेयर सदस्यको आशंका थियो ।

सहकारी चोरी भए लगत्तै तत्कालिन सञ्चालक समिति अध्यक्ष यादुराम भुसालले इलाका प्रहरी कार्यालय पिपरामा जानकारी गराएका थिए । सहकारी सञ्चालक समिति र प्रहरीले केहीँ दिन सहकारी चोरीबारे अनुसन्धान चलाए पनि तीन बर्ष वितिसक्दा समेत यसको अन्तिम प्रगति विवरण बाहिर ल्याउन सकेका छैनन् ।

त्यो बेलाको सञ्चालक समिति अहिले फेरिएको छ । बसन्त खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति बनेपनि यो घटनाबारे मौनता साध्ने काम गरेको सहकारीका एक जना शेयर सदस्यले आरोप लगाएका छन् ।

‘दुई हजार बढी शेयर सदस्य भएको सहकारीमा रकम चोरी भयो । तर सञ्चालक समिति यस विषयमा मौन जस्तै बस्यो ।

पुराना सञ्चालक समितिलाई यस विषयमा पटक पटक गहिरो अनुसन्धान गर्न भन्यौ, नसुने झै गरे । उनले भने, ‘नयाँ सञ्चालक समितिले पनि यस विषयमा खासै चासो देखाएको पाइएको छैन ।’

त्यो बेलाको समितिलाई राजनीतिक संरक्षण हुँदा यो विषय गौणमा परेको सहकारीका एक जना पूर्व अध्यक्ष बताउँछन् ।

योजनावद्ध तरिकाले सहकारी चोरी भएको घटनाले पुष्टि गर्छ । सहकारी भित्रकै योजना अनुसार सहकारी लुटिएको हाम्रो दावी हो । अहिलेसम्म चोर त पत्ता लाग्न सकेन् सकेन् हालसम्म भए गरेका प्रगति विवरण पनि सार्वजनिक गरिएन । ती पूर्व अध्यक्षले आर्थिक खबरलाई सुनाए ।

सहकारीमा हालसम्म उनै पुराना कर्मचारी कार्यरत छन् । चोरीको घटनामा कर्मचारीको पनि कमजोरी भएको आरोप छ । कर्मचारीको हेलचेक्राईले सहकारीबाट रकम लुटिएको आरोप लागेपनि कर्मचारी माथि कुनै एक्सन नचालिएको ती पूर्व अध्यक्ष बताउँछन् ।

‘सहकारीको पूर्वपट्टीको ताला तोडिएको थियो । भल्टबाट पैसा निकालिएको छ । सिसि क्यामेराको महत्वपूर्ण सामान लगिएको छ । अरु कागजात केही भएको छैन्, यो योजनाबद्ध नभएर के हुन सक्छ ?’ उनी प्रश्न गर्छन् ।

सहकारी चोरीबारे तत्कालिन सञ्चालक समितिलाई पटक पटक छानविनका लागि आयोग गठन गर्न भने पनि नसुने झै गरेको ती पूर्व अध्यक्षको गुनासो छ ।

सहकारीबाट रकम चोरी भए पनि बीमाबाट साढे तीन लाख रुपैयाँ आएको र अरु रकम कर्मचारीको बोनस लगायतका सुविधाबाट पूर्ति गरिएको छ । शेयर सदस्यलाई आर्थिक बोझ नपरे पनि सहकारी चोरी हुनु, यसको दोषि पत्ता लाग्न नसक्नु र यो घटनालाई सामान्य ठान्नुले अनेकन शंका उब्जिएको हो ।

सहकारी प्रतिको आम बुझाईलाई नकरात्मक बनाउने र आफूले लगाएको लगानी सुरक्षित नहुने हो की भन्ने आशंका यो घटनाले बनाएको छ ।

आजभन्दा झण्डै ५ बर्ष पहिला गजेहडामा रहेको जनसेवा बहुमुखी सहकारी संस्थामा १० लाख बराबरको रकम चोरी भयो । जितपुर चारनम्बर सडकखण्डमा रहेको सहकारीको आफ्नै भवन छ । वरपर घरहरु छन् । तरपनि सहकारीको रकम चोरी भयो । सहकारी चोरी भएको ५ बर्ष वित्यो, चोर पत्ता लाग्न अझै सकेको छैन् । घटना शंस्काष्पद हुँदा सहकारी प्रतिको विश्वासमा प्रश्न उठेको छ ।

तत्कालिन सहकारीका अध्यक्ष बाबुराम आचार्यले सहकारी चोरी भए लगत्तै इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराएका थिए । प्रहरीले सरकारी चोरी सम्बन्धि गहिरो गरी अनुसन्धान गरेपनि चोर पत्ता लाग्न सकेन् ।

सहकारीको हालका अध्यक्ष द्रोणराज सुवेदीले सहकारी चोरी सम्बन्धि एक बर्ष लगाएर अनुसन्धान गरेपनि चोर पत्ता लाग्न नसकेको बताए ।

‘पटक पटक यस विषयमा अनुसन्धान गरेका हौं तर चोर पत्ता लाग्न सकेन्, अध्यक्ष सुवेदीले भने, ‘प्रहरीले नै अब अनुसन्धान गर्न सकिदैन् भनेर हात निकालेको छ ।’

प्रहरीले शंकाष्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान पनि गरेको थियो । तत्कालिन कर्मचारी र अन्य व्यक्तिमाथि अनुसन्धान गरेपनि कतैबाट यसको पुष्टि हुन सकेन् ।

रातको समयमा सहकारीबाट रकम चोरी भएको हो । सिसि क्यामेरामा सेता मान्छेहरु देखिए पनि दृश्य स्पष्ट हुन नसक्दा चोर पत्ता लाग्न सकेन् । सिसि क्यामेराको मुख्य कम्युटरनै चोरलेसंगै लिएर जादा अनुसन्धान गर्न थप समस्या भएको हो ।

सहकारीका शेयर सदस्यहरुले भने रकम चोरीबारे गहिरो गरी अनुसन्धान नभएको आरोप लगाउँछन् ।

‘पटक पटक यो विषयलाई गहिरो गरी अनुसन्धान गरौं भनेर भन्यौ तर हाम्रो कुराको सुनुवाई भएन्, एक जना शेयर सदस्यले भने ।’ गजेहडाबाटै मध्यरातमा सहकारी चोरी हुनु शंकाष्पद रहेको ती शेयर सदस्यको आशंका छ । कर्मचारीबाट पनि गम्भीर लापरबाही देखिएको उनको आरोप छ । –आर्थिक खबर पत्रिकाबाट

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ९ : २९ बजे